बर्दियाका उज्यालो सहकर्मी भावुक योगी सम्मानित

 फागुन १९, २०७५ आइतबार ८:४८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

बर्दिया – उज्यालो सहकर्मी भावुक योगी ३५ औँ वार्डेन सम्मेलनबाट सम्मानित हुनुभएको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा शनिबार बेलुका आयोजित ३५ औँ वार्डेन सम्मेलन तथा १७ औँ मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षहरुको बैठक कार्यक्रममा बर्दियाका उज्यालो सहकर्मी भावुक योगी कदरपत्रसहित सम्मानित हुनुभएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जको जैविक विविधता संरक्षणका लागि सञ्चारमाध्यममार्फत जनचेतनामुलक समाचार सम्प्रेशण, संरक्षण, शिक्षा प्रचारप्रसार एवं जनचेतना अभिवृद्धि गर्ने कार्यमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै उच्च कदर स्वरुप पत्रकार योगीलाई सम्मान गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो ।

वन तथा वातावरण मन्त्रालय अन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग काठमाण्डौले बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्वारामा आयोजना गरेको ३५ औँ वार्डेन सम्मेलन तथा १७ औँ मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षहरुको बैठक कार्यक्रमका प्रमुख अतिथि वन तथा वातावरण मन्त्रालयका मन्त्री शक्ति बहादुर बस्नेत, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मन बहादुर खड्का, सांसद सत्या पहाडी र मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले संयुक्त रुपमा पत्रकार योगीलाई सम्मान स्वरुप खादा ओढाएर कदरपत्र प्रदान गर्नु भएको हो ।

‘वन्यजन्तुको संरक्षण, समृद्धिका लागि पर्यापर्यटन’ भन्ने मुल नाराका साथ आयोजित ३५ औँ वार्डेन सम्मेलनबाट मानव वन्यजन्तु द्धन्द्ध न्युनिकरण रणनिति बनाउने, चौबिसै घण्टा खटिने कर्मचारीका लागि प्रोत्साहन भत्ता एवं १० लाख बिमा दिनुपर्ने, गैंडाको प्राकृतिक मुत्युको शुक्ष्म अध्ययन, अव्यवस्थित बस्ती व्यवस्थापन आयोग गठन गनुपर्ने संकल्प प्रस्तावहरु पारित भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक डा. रामचन्द्र कँडेलले जानकारी दिनुभयो ।

यस्तै राहत निर्देशिकामा सम्पूर्ण वन्यजन्तुहरु समावेश गर्ने, श्रोत नभएका मध्यवर्ती क्षेत्रमा थप बजेट, नदी कटानका लागि रकम, छाडा चौपाया नियन्त्रण, विभागमा अमिनको दरबन्दी, सूचना प्रणालीमा सुधार गर्नुपर्नेलगायतका १५ बुँदे संकल्प प्रस्ताव पारित भएको उपमहानिर्देशक कँडेलले बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया