यस्ताे छ ‍नेपाली राष्ट्रिय फुटबल टिमले लगाउने नयाँ जर्सी

 फागुन २०, २०७५ सोमबार १५:१३:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अबदेखि नेपाली राष्ट्रिय फुटबल टिमले लगाउने जर्सीमा नयाँ लोगो प्रयोग हुने भएको छ ।

त्यसका लागि अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार राजधानीमा नयाँ लोगो र टिमले लगाउने जर्सीको नयाँ डिजाइन सार्वजनिक गरेको हो । पोखराका सन्दीप तिवारीले एन्फाको नयाँ लोगो तयार पारेका हुन् । एन्फाले गरेको कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् राखेपका सदस्य सचिव केशवकुमार विष्टले लोगो सार्वजनिक गरेका हुन् । 

कार्यक्रममा लोगो डिजाइन गर्ने सन्दीप तिवारीलाई नगद ५० हजारसहित सम्मान पनि गरिएको छ । नयाँ लोगोको माथिल्लो भागमा सगरमाथा र बीचमा नेपालको झण्डा राखिएको छ  । पुछारमा फुटबलको चिन्ह रहेको र ती फुटबलले ७ वटै प्रदेशलाई बुझाउने डिजाइनर तिवारीले जानकारी दिए । यसअघि २०६२–०६३ पछि पनि एन्फाले श्रीपेचको ठाउँमा फुटबल राखेर लोगो परिवर्तन गरेको थियो ।

यस्तै नेपाली खेलाडीले प्रयोग गर्ने जर्सीको रङ पनि पहिला जस्तै रातो र निलो नै हुने छ । तर जर्सीमा प्रयोग हुने लागोको स्थान भने परिवर्तन भएको छ । 

डिजाइनर तिवारीका अनुसार जर्सीको अघिल्लो भागमा सर्वोच्च शिखर सगरमाथा,  बायाँपट्टि एन्फाको लोगो र जर्सीको पछाडि राष्ट्रिय झण्डा हुने छ । यसअघि दुई वटा कम्पनीले नेपालको जर्सी बनाउने गरेकोमा एकरुपता दिन भन्दै अबदेखि केल्मीले मात्र नयाँ जर्सी बनाउने छ ।

त्यसका लागि एन्फाले सम्झौता पनि नवीकरण गरेको छ ।

सोमबार नै एन्फाले फुटबल गीत पनि सार्वजनिक गरेको छ । राष्ट्रिय गीतका रचनाकार ब्याकुल माइलाले नै फुटबल गीत रचेका छन् । गीतमा इन्दिरा जोशी, शिव परियारलगायतकाे स्वर रहेकाे छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया