हेलिकप्टर दुर्घटनामा केन्याका 'भीआईपी' पाइलटसहित पाँच जनाको ज्यान गयाे

 फागुन २०, २०७५ सोमबार १७:१३:२५ | एजेन्सी
unn.prixa.net

केन्याकाे सेन्ट्रल आइल्याण्ड राष्ट्रिय निकुञ्जमा आइतबार हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा परि केन्याका एक पाइलटसहित चार जना अमेरिकी नागरिकको ज्यान गएकाे  छ ।

प्रहरीले बताएअनुसार आइतबार साँझपख क्याम्प खडा गरिएको आइल्याण्डको त्यो ठाउँमा दुईओटा हेलिकप्टर ल्याण्ड गरिएका थिए, एउटा विस्तारै सुरक्षित साथ उड्यो भने अर्काे उड्ने क्रममा दुर्घटना हुन पुग्याे । दुर्घटनाको कारण भने पत्ता लागिसकेको छैन ।

दुर्घटनामा परेको हेलिकप्टरका पाइलट, म्यारियो म्यागोन्गा एकदमै अनुभवी भएको स्थानीय मिडियाले बताएका छन् । उनी देशका उप राष्ट्रपति विलियम रुटोलाई समेत बोकेर हेलिकप्टर उडाउने भीआईपी पाइलट थिए ।

उनले योभन्दा पहिला केन्याको डिफेन्स फाेर्समा पाइलटको रुपमा समेत काम गरिसकेका थिए । तर सन् २०१७ देखि भने उनी निजी हेलिकप्टर सेवाप्रदायक कम्पनी केआईडीएलका लागि काम गर्थे ।

पाइलटका नातेदार तथा त्यस क्षेत्रका सांसद रिचार्ड अनयोन्काले बताएका छन्, ‘म्यागोन्गा एकदमै अनुभवी र ख्यातिप्राप्त पाइलट थिए । उनले तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामासहित ‘हाई प्रोफाइल’ व्यक्तिहरुलाई उडाउन पाउने अनुमति पनि पाइसकेका थिए ।’

केन्याको एक टीभी च्यानलसँग बोल्दै अनयोन्काले उनी पैसाले किन्न नसकिने खालका एकदमै अनुभवी र गुनी पाइलट भएको बताएका छन् । केन्यामा जहाज दुर्घटना भएको तीन हप्तापछि फेरि यो हेलिकप्टर दुर्घटना भएको हो ।

दुर्घटनाको कारण यकिन नभए पनि उच्च पहाडी क्षेत्र र रातिको समय भएकाले दुर्घटना भएको हुनसक्ने लोबोलो राष्ट्रिय निकुञ्जका कर्मचारीहरुले बताएका छन् ।
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया