बम पड्काउने र आतंकित पार्ने दुष्प्रयास गर्नु अतिवाद : अध्यक्ष प्रचण्ड

 फागुन २०, २०७५ सोमबार १९:३९:११ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया अझै नटुंगिएको भनेर प्रचार गर्नु उचित नहुने बताउनुभएको छ । 

विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानिमा अध्यक्ष प्रचण्डले पछिल्लो पटक भएको बम विस्फोट र हतियार भेटिएको घटनालाई आधार मानेर शान्ति प्रक्रिया नै टुंगिएको छैन भनेर प्रचार गर्नु उचित नहुने बताउनुभएको हो । 

लामो संघर्ष र बलिदानपछि संविधानसभाबाट बनेको संबिधान र त्यसै अनुरुप वामपन्थीहरुको सरकार भएको बेलामा कसैले बम पड्काउने र आतंकित पार्ने दुष्प्रयास गर्नु अतिवाद भएको बताउनुभयो ।  

उहाँले विप्ल तर्फ संकेत गर्दै अराजक गतिविधि गर्ने जो कसैलाई पनि सरकारले आफ्नो हिसाबमा नियन्त्रण गर्ने प्रस्ट पार्नुभयो ।  उहाँले चुनौती दिँदै भन्नुभयो, ‘तपाईहरु हेर्दै जानुहोला यो समस्यालाई राजनैतिक र प्रशासनिक दुबै तरिकाबाट सरकराले समाधान गर्छ ।’  

माओवादी शान्ति प्रक्रियामा आएका बेलाको हतियार अहिले भेटिएको भन्ने प्रसंगमा अध्यक्ष प्रचण्डले जति हतियार क्यान्टोन्मेन्टमा थिए ती सबैको व्यवस्थापन गरेको र माओवादी लडाकुलाई नेपाली सेनामा समायोजना गरेको स्पष्ट पार्नुभयो । 

तर त्यो बेलामा क्यान्टोन्मेन्टमा राखिएका केही हतियार चोरी भएको भन्ने बारे तत्कालीन सरकारलाई जानकारी गराएको पनि उहाँले बताउनुभयो ।लडाकु समायोजनका बेलामा नै हतियार पनि समायोजन गरिएको भन्दै उहाँले त्यसको जिम्मेवारी आफूले नलिने बताउनुभयो ।  

‘त्यो बेला कसैले लुकाएर राखेको भए आफु जिम्मेवार हुनसक्ने अबस्था पनि हैन,  त्यो सामान्य घटना हो,’ उहाँले भन्नुभयो, ‘त्यसैलाई लिएर शान्ति प्रकृयाको काम हल नभएको भन्ने प्रचार गर्नु उचित हैन ।’

पछिल्लो बम आक्रमण र हतियार भेटिएको बिषयलाई राज्यले गम्भिर रुपमा लिएको र त्यस्ता घटना नियन्त्रण गर्न सरकार लागि परेको पनि बताउनुभयो ।  

हिंसात्मक गतिविधि गरेर नागरिक तर्साउने दिन अब नरहेको भन्दै प्रचण्डले अब विकास र समृद्धि तर्फ लाग्न सबैलाई आह्वान पनि गर्नुभयो । 

त्यस्तै अध्यक्ष प्रचण्डले दुई अध्यक्षबीचमा मन्त्रीमण्डल हेरफेरका बारेमा कुनै कुरा नभएको बताउनु भएको छ । 

सरकारमा कति राख्ने र कसरी अगाडि बढाउने भन्ने समीक्षा प्रधानमन्त्रीले गर्ने भएकोले  दुई अध्यक्षबीच त्यसबारे कुनै पनि छलफल नभएको उहाँले स्पष्ट पार्नुभयो ।

राजपाले सरकारलाई दिएको समर्थन फिर्ता र सरकारमा सहभागिता के हुने भन्ने बारेमा आफूलाई जानकारी नभएको भन्दै त्यो विषय प्रधानमन्त्रीले मिलाउनुहुने बताउनुभयो ।  

संघीय समाजवादी फोरमसँग भएको सम्झौताअनुसार आवश्यकताका आधारमा संविधान संशोधन गर्ने बारेमा छलफल भइरहेकोले  संविधान संशोधन गर्दा राजपा पनि सहमतिमा आउने प्रचण्डले बताउनुभयो ।

पार्टी एकीकरण २-३ दिन भित्रैमा टुंगिन सक्नै भन्दै उहाँले यसका लागि दुई अध्यक्ष बसेर छलफल मार्फत टुंगोमा पुर्याइने पनि बताउनुभयो । 

पछिल्लो दुर्घटनाका कारण धेरै कामहरु रोकिएको स्पष्ट पार्दै उहाँले झापाबाट फर्किएलगत्तै प्रदेशको बारेमा निर्णय गरिने बताउनुभयो । ‘प्रदेशको प्रस्ताव तयार भईसकेको छ, अध्यक्ष प्रचण्डले भने, अबको २–३  दिन भित्र अगाडि बढ्छ ।’
 

अन्तिम अपडेट: चैत २८, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया