सन्दीप लामिछाने बने क्रिकेटर अफ् द इयर, कसले के अवार्ड जिते ?

 फागुन २१, २०७५ मंगलबार १६:४५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल क्रिकेट खेलाडी संघ र एनसीसीएले प्रदान गरेको क्रिकेट अवार्डमा वर्षको उत्कृष्ट पुरुष खेलाडीको उपाधि सन्दीप लामिछानेले जितेका छन् ।

महिलातर्फ सरिता राना मगरले यो उपाधि जितिन् । यस्तै वर्षको उत्कृष्ट उदीयमान खेलाडीको अवार्ड रोहितकुमार पौडलेले जिते । 

क्रिकेटर अफ् द इयर

रसियन कल्चर सेन्टरमा भएको कार्यक्रममा क्रिकेटर अफ् द इयरको पुरुषतर्फको अवार्ड सन्दीप लामिछानेले जितेका छन् । पछिल्लो एक वर्षमा सन्दीप घरेलु मात्र होइन अन्तराष्ट्रिय फ्रेन्चाइजी लिगमा पनि तहल्का मच्चाएका छन् । उनले गएको वर्ष कुल ३२ खेलमा ८४ विकेट लिएका थिए । 

सन्दीपले मनोनयनमा रहेका दिपेन्द्र ऐरी, करण केसी, सोमपाल कामी, पारस खड्कालाई पनि पछि पारे । नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान पुर्याएका सन्दीपले विश्वका हरेक लिगमा खेलेका छन् । उनले अहिले पाकिस्तान सुपर लिगका लागि दुबईमा रहेका छन् । उनका लागि कप्तान पारस खड्काले उपाधि ग्रहण गरेका हुन् । 

वर्षको उत्कृष्ट उदीयमान खेलाडी

यो उपाधि रोहितकुमार पौडेलले जिते । उनले ललित राजवंशी, अविनाश बोहरा, कविता कुवँर, सन्दीप जोरालाई पछि पारे । 

नेपालले यूएईविरुद्धको टी–२० र एकदिवसीय सिरिज जित्दा टिमको सदस्य रहेका रोहित नेपालका लागि भरपर्दा खेलाडीका रुपमा गनिएका छन् । एकदिवसीय क्रिकेटमा अर्धशतक बनाउने कान्छा खेलाडीको कीर्तिमान उनकै नाममा रहेको छ ।

नेदरल्याण्ड्सविरुद्धको सिरिजमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेको रोहितले तीन वटा एकदिवसीय खेलमा ७० रन बनाएका छन् । जसमा उनको एक अर्धशतक रहेको छ । उनले अवार्डसँगै ६६ हजार रुपैयाँ हात पारेका छन् । 

उत्कृष्ट महिला खेलाडी 

वर्षको उत्कृष्ट महिला क्रिकेटको उपाधि सिता राना मगरले जितेकी छिन् । उनले मनोनयनमा परेका इन्दु बर्मा, करुणा भण्डारी, रुबिना क्षेत्री र सरिता मगरलाई पछि पारिन् । हालै थाइल्याण्डमा भएको आईसीसी टी–२० महिला विश्वकप छनोटमा सिताको उत्कृष्ट प्रर्दशन गर्दै एक सय ३८ रन बनाएकी थिइन् । 

लाइफटाइम अचिभमेन्ट अवार्ड 

यस्तै नेपाली क्रिकेट खेलका लागि आफ्नो जीवन व्यतित गरेका कोमलबहादुर पाण्डेलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरियो । नेपाली क्रिकेट र फुटबल दुवैमा खेलाडी जीवन बिताएका पाण्डेले लामो समय कीर्तिपुर क्रिकेट मैदानमा क्युरेटरको काम गरेका थिए । नेपाली क्रिकेटमा खेलाडी मात्र होइन, टेक्निकल पक्षको अब्बल ज्ञान भएका पाण्डेले नेपालको क्रिकेट योगदान गरेका छन् । उनले सम्मानसँगै ६६ हजार रुपैयाँ पाए ।

मोमेन्ट अफ् द इयर 

नेपाली क्रिकेटमा यो वर्षमा भएको मोमेन्ट अफ् द इयरको अवार्ड करण केसीले जितेका छन् । नामिबियामा क्यानडाविरुद्धको पारीले करणलाई एकाएक चर्चामा ल्याएको थियो । हारको मुखबाट तानेर टिमलाई जित दिलाएका करण नेपाली राष्ट्रिय टिमको महत्वपूर्ण सदस्यका रुपमा रहदै आएका छन ।

अलराउण्डरका रुपमा टिमका सदस्य रहेका करणले पारस खड्का, दिपेन्द्र ऐरी, सोमपाल कामी, सन्दीप जोरा, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछानेलाई पछि पारे । अनलाइन भोटिङका आधारमा विजेताको घोषणा गरिएको हो । यो विधामा कुल १० खेलाडीलाई मनोनयनमा राखिएको थियो ।
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया