सौर्य एयरलाइन्सले तिर्‍यो बक्यौता : फागुन २४ देखि उडान

 फागुन २१, २०७५ मंगलबार १९:५६:२४ | रासस
unn.prixa.net

काठमाण्डाै - निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी सौर्य एयरलाइन्सले यही फागुन २४ गतेदेखि आफ्नो सेवा पुनः सञ्चालन गर्ने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई तिर्नुपर्ने विमानस्थल सेवा शुल्कबापतको बक्यौता रकम तिर्न अटेर गरेपछि विमानस्थलले उक्त एयरलाइन्सको उडान रोकेको थियो । 

करिब चार महिनादेखि उडान रोकिएको साैर्य एयरलाइन्सले नियमित उडान गर्ने भएको हो । भारतीय कम्पनी कुबेर समूहले खरिद गरेको सौर्यले आज पहिलो किस्ताबापत ५० लाख रुपैयाँ तिरेको विमानस्थल कार्यालयले जनाएको छ । 

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार त्यस कम्पनीले विमानस्थलाई जरिवानासहित चार करोड  रुपैयाँ बक्यौता रकम तिर्नुपर्ने हुन्छ । अबका १० दिनभित्र थप  ५० लाख  रुपैयाँ र दुई महिनाभित्र सबै बक्यौता तिर्ने एयरलाइन्सले वचन दिएको महाप्रबन्धक क्षेत्रीले बताउनुभयो । 

सौर्य एयरलाइन्सका बजार व्यस्थापन प्रमुख मुकेश खनालले बक्यौता बुझाउँदै सेवा सञ्चालन गरिने जानकारी दिनुभयो । अबको एक महिनाभित्र सबै बक्यौता रकम तिरिसक्ने उहाँले उल्लेख गर्नुभयो । 

विमानस्थलले सेवा शुल्क नतिरेको भन्दै गत मङ्सिर ११ गतेदेखि सौर्यका जहाज ग्राउण्डेड गरेको थियो । आर्थिक सङ्कटमा परेको सौर्य केही साताअघि मात्र भारतीय लगानीकर्ता कुबेर समूहले ६३ करोड रुपैयाँमा खरिद गरेको थियो । त्यस समूहले ४९ प्रतिशत भारतीय तथा ५१ प्रतिशत नेपालीका नाममा खरिद गरेको जनाएको छ । 

हाल दुई ओटा बम्बार्डियर जहाजमार्फत उडान गर्दै आएको सौर्यले अबका ६ महिनाभित्र तीन ओटा एटीआर जहाज भित्र्याउने तयारी गरेको बजार व्यवस्थापक प्रमुख खनालले जानकारी दिनुभयो ।

कम्पनीले नयाँ जहाज खरिद गरेसँगै नयाँ गन्तव्यमा उडान गर्ने योजना बनाएको छ । हाल विराटनगर, भैरहवा, भद्रपुर, नेपालगञ्ज तथा धनगढीका लागि उडान गर्दै आएको सौर्यले नयाँ जहाजबाट पोखरा, सिमरा, भरतपुर, जनकपुर तथा राजविराजका लागि उडान गर्ने योजना रहेको जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया