बराबर काम गरे पनि पुरुषलाई भन्दा महिलालाई कम ज्याला

 फागुन २२, २०७५ बुधबार १७:१९:४६ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – समान कामको समान ज्याला नीतिमै सीमित र लिङ्गकै आधारमा ज्यालामा विभेद भएकाे भन्दै रुकुमका कामदार महिलाहरुले गुनासाे गर्दै आएका छन् । 

बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म काम गर्ने पुरुष कामदारले दैनिक ७ सय रुपैयाँ ज्याला पाउँछन् भने सँगै काम गर्ने महिलाले ५ सय मात्रै । रुकुम जिल्लामा विभिन्न कामका लागि महिला र पुरुषको ज्यालाबीच धेरै नै अन्तर पाइन्छ ।

समान कामको समान ज्यालाको नीति सरकारले अंगिकार गरेको छ । लिङ्गको आधारमा ज्यालामा विभेद गर्न नपाइने कानुन बनेको छ । तर जिल्लामा महिला र पुरुषको ज्यालामा विभेद हुने गरेको गुनासो छ ।

जिल्लाको बाँफिकोट गाउँपालिका वडा नं. ६ मा निर्माण भइरहेको खानेपानी आयोजना निर्माणको काममा महिला र पुरुषलाई फरक फरक ज्याला दिइने गरेको पाइएको हाे । यस आयोजनामा काम गर्ने बाँफिकोट गाउँपालिका ६ मग्माकी धनसरी सार्कीले दिनभरी काम गरेवापत ५ सय रुपैयाँ मात्र ज्याला पाउने गरेको बताउनुभयो । 

उहाँसँगै आएर त्यही काम गर्ने पुरुष कामदारले भने ७ सय रुपैयाँ दैनिक ज्याला पाउँछन् । 

‘काम एउटै गर्छाैं, तर ज्याला भने फरक–फरक छ’, धनसरीले भन्नुभयो, ‘हामीले दैनिक पाँच सय ज्याला पाउँदा पुरुषले ७ सय पाउने गरेका छन्, समान ज्यालाको नारा सुन्ने मात्रै भयो ।’ 

महिला र पुरुषको समान ज्यालाको लागि जति आवाज उठ्ने गरे पनि रुकुममा अझैसम्म पनि ज्यालामा समानता हुन सकेको छैन । घरायसी, स्थानीयदेखि निर्माण व्यवसायीसम्मले ज्यालामा विभेद गर्दै आएको महिलाहरुको गुनासो छ । 

महिला र पुरुषले बराबर काम गर्ने गरेको भए पनि ज्यालामा भने विभेद हुँदै आएको बाँफिकोट गाउँपालिका ७ की संगीता केसीले बताउनुभयो । उहाँका अनुसार, महिला भएकै कारण ज्यालामा विभेद हुने गरेको छ । समान ज्यालाका लागि विगतदेखि नै आवाज उठाए पनि बेवास्ता हुने गरेको उहाँको भनाइ छ । 

महिला कामदारहरुको अनुभवमा पुरुषले काम गर्दै गर्दा समय निकालेर चिया, चुरोट, सुर्ती खान भ्याउँछन्, थकाइ पनि मेटाउँछन् । महिला भने एकोहोरो काममा जोतिन्छन् । थकाइ मार्न पनि दिइँदैन, ज्याला भने पुरुषभन्दा काम दिन्छन् । 

कामको आधारमा ज्याला केही तलमाथि भएपनि समान कामको समान ज्याला हुनुपर्ने एक निर्माण व्यबसायीले बताए । सरकारले बनाएका निति नियमहरु व्यावहारिक रुपमा कार्यान्वय गरिनुपर्ने आवश्कता रहेको उनले औल्याए । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया