आईसीसी बोर्ड बैठकले गरेका निर्णयहरु

 फागुन २२, २०७५ बुधबार २०:१९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

दुबईमा भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको बोर्ड बैठकले महिला र पुरुषको टी–२० विश्वकप ग्लोबल क्वालिफायर आयोजनाको स्थान तोकेकाे छ ।

यसअघि स्थायी सदस्यहरुको हितमा निर्णयहरु गर्दै आएको आईसीसीको बोर्ड बैठकले यो पटक भने एसोसियट सदस्यहरुको हितमा केही निर्णयहरु गर्यो, जसका कारण आईसीसीमा रहेका ९३ सदस्य राष्ट्रहरुमा पनि सकारात्मक भावना जागृत भएको छ ।

टि–२० विश्वकपको छनोट प्रतियोगिता पुरुषको टि–२० विश्वकप छनोट प्रतियोगिताका लागि आयोजना स्थल यूएई हुने लगभग पक्का–पक्की जस्तै थियो ।

अन्य राष्ट्रहरु यो प्रतियोगिता सञ्चालनका लागि पूर्ण रुपमा योग्य नभएको अवस्थामा यूएईले चौथो पटक छनोट प्रतियोगिता सञ्चालन गर्ने सौभाग्य पायो, जुन अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म हुनेछ ।

यसैगरी महिला तर्फको छनोट प्रतियोगिता स्कटल्याण्डले आयोजना गर्ने निर्णय पनि भयो । आठ टिम सहभागी रहने छनोट प्रतियोगिता अगस्ट ३१ देखि सेप्टेम्बर ७ सम्म हुनेछ ।

यससँगै यस्तो एउटा निर्णय भयो, जसका कारण अघिल्लो स्थानमा रहेका एसोसियट राष्ट्रहरुमा उत्साह जागृत भएको छ । क्रिकेट केन्याले आयोजना गर्ने टी–२० प्रतियोगितामा केन्यासँगै ओमान, हङकङ, नेपाल खेल्नेछन् । यस्तै दक्षिण अफ्रिकाको टोली, जिम्बावे र वेष्ट इण्डिजले पनि आफ्नो टोली पठाउने भएका छन् ।

भारत र पाकिस्तानले पनि बी टिम पठाउने बुझिएको छ । यसअघि मार्च २२ देखि हुने भनिएको प्रतियोगिता तीन साताका लागि सरेको छ ।

एसियन गेम्समा क्रिकेटको पुनरागमन

यो साताको अर्को महत्वपूर्ण भनेको एसियाली खेलकुदमा क्रिकेटलाई पुनरागमन गराउनु हो । आईसीसीले एसियाली ओलम्पिक काउन्सिलमा गरेको लबिङपछि सन् २०२२ को ग्वान्जाउ एसियाली खेलकुदमा क्रिकेटलाई पनि समावेश गर्ने निर्णय भएको छ ।

अघिल्लो वर्ष इण्डोनेसियामा भएको एसियाली खेलकुदमा क्रिकेटलाई समावेश गरिएको थिएन, जसका कारण क्रिकेटमा बृहत् लगानी गरेको हङकङ क्रिकेट बोर्ड आर्थिक संकटमा समेत परेको थियो । अझ ओलम्पिकमा पनि क्रिकेटलाई समावेश गरिने हो भने नेपाल जस्ता एसोसियट राष्ट्रहरुलाई ठूलो राहत मिल्नेछ ।

आईसीसीको बोर्ड बैठकले सन् २०२८ को लस एन्जलस् ओलम्पिकमा क्रिकेटलाई समावेश गराउन पहल गर्ने निर्णय पनि गरेको छ ।

ओलम्पिकलाई क्रिकेटमा समावेश नगराउनका लागि इंग्ल्याण्ड क्रिकेट बोर्ड ईसीबी विपक्षमा रहँदै आएको थियो । तर ईसीबीका अध्यक्ष गिल्स क्लार्कको बहिर्गमनपछि ईसीबीको स्वर कमजोर बनेको छ ।

यद्यपी भारतीय क्रिकेट नियन्त्रण बोर्ड भने अझ पनि क्रिकेटलाई ओलम्पिक्समा समावेश गराउन नहुने पक्षमा अडिग छ । तर पनि क्रिकेटको बढ्दो क्रेजका कारण बीसीसीआईलाई पनि यसमा सहमत हुनुको विकल्प रहनेछैन ।

टी–२० लिगमा आईसीसीको सहकार्य

एसोसियट राष्ट्रहरुका लागि फाइदाजनक अर्को निर्णय भनेको टी–२० लिगको सम्बन्धन हो । क्रिकेटमा राम्रो प्रदर्शन गरिरहेका केही राष्ट्रहरुमा टि–२० लिगको आयोजना भइरहेका छन् ।

यसको नियमनका लागि आईसीसीले एउटा समूह समेत बनाउने निर्णय गरेको छ । आईसीसीले फ्रेन्चाइज लिगलाई नियममा बाँध्नका लागि तयारी गरिरहेको छ । अहिले एउटा खेलाडीले विश्वका सबै लिग भ्याउने अवस्था आएको छ । आईसीसीले एउटा खेलाडीलाई सिमित टी–२० लिगमात्र खेल्न पाउने नियममा बाँध्ने तयारी गरेको छ ।

नियमले स्थाई सदस्य राष्ट्रहरुमा हुने लिगलाई कुनै असर नपर्ने भएपनि हङ्कङ् ब्लीज, क्यानडाको ग्लोबल टि–२० र युरोपेली राष्ट्रमा आयोजनाको तयारीमा रहेका लिगहरुमा भने केही असर पर्नेछ ।

आयरल्याण्ड, स्कटल्याण्ड र नेदरल्याण्ड्स यसै महिना घरेलु टी–२० लिग सञ्चालनको घोषणा गर्ने तयारीमा छन् । एउटा खेलाडीलाई दुई वा तीनवटा प्रतियोगितामात्र खेल्न दिँदा आईपीएलमा केही असर पर्नेछ । तर, यसले अन्य लिगहरु र धेरै खेलाडीलाई राहत मिल्नेछ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया