बन्द हुन लागेका चिनी उद्योग सञ्चालनमा ल्याउन सरकारलाई सांसद त्रिपाठीको ध्यानाकर्षण

 फागुन २३, २०७५ बिहिबार १४:२३:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सांसद हृदयश त्रिपाठीले लामो समय बन्द रहेर सञ्चालनमा आएका चिनी मिल पनि बन्द हुने सूचना सार्वजनिक भएको भन्दै त्यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ । 

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा ढ्यापढ्यापे समयमा बोल्दै उहाँले बन्द हुने सूचना प्रकाशित गरेका चिनी मिलमाथि अबिलम्ब हस्तक्षेप गरी सञ्चालनमा ल्याउन सरकारसँग माग गर्नुभएको हो ।

डेढ महिनापछि सञ्चालन भएका चिनी मिलहरु पुनः बन्द हुने सूचना सार्वजनिक भएको भन्दै उहाँले ती मिलहरुमाथि हस्तपक्षेप गरी सञ्चालनको व्यवस्था मिलाउन नसके हजारौँ किसानहरु उखु जलाउन बाध्य हुने भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले उखु किसानका लागि सरकारले घोषणा गरेको अनुदानको पैसा किसानको हातमा नपुगेको तर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले सरकारले सम्बोधन नगरेकाले सांसदहरुले दर्ता गराएका सार्वजनिक महत्वको प्रस्ताव, संकल्प प्रस्ताव, ध्यानाकर्षण प्रस्ताव हरु त्यत्तिकै थन्किएको भन्दै संसदको प्रभावकारितामाथि प्रश्न उठाउनुभयो । उहाँले कृषि उपजको मूल्य निर्धारण आयोगको गठन गरी त्यसले निष्पक्ष रुपमा कृषि उपजको मूल्य निर्धारण गरेपछि सरकारले समर्थन मूल्य घोषणा गरोस् आफूले संकल्प प्रस्ताव दर्ता गराएको भए पनि सरकारले जवाफ दिन तयार नभएकाले प्रस्ताव त्यसै थन्केर बसेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘दुःख लागिरहेको छ , आफ्नै सरकारलाई विचरा भन्न परिरहेको छ ।’

उहाँले अर्को प्रसंगमा रेशम चौधरीलाई न्यायालयले न्याय नगरेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रा अदालतले फैसला गर्छन्, न्याय गर्दैनन् भनेर एक जना पूर्व प्रधानन्यायाधीशले आजै मात्रै भन्नुभएको थियो । मलाई त्यो कुरा सही लाग्यो । फैसला मात्रै हुने रहेछ । न्याय नहुने रहेछ ।’
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया