राजनीतिक सङ्कटबीच कतारले बेच्यो १२ अर्ब डलरको ऋणपत्र

 फागुन २३, २०७५ बिहिबार १५:५७:२७ | रासस
unn.prixa.net

कतारकाे केन्द्रीय बैंक

कतारले १२ अर्ब डलर बराबरको ऋणपत्र बिक्री गरेको त्यहाँकाे अर्थ मन्त्रालयले बिहीबार जनाएको छ । 

खाडी राष्ट्रको गठबन्धनले आर्थिक तथा कूटनीतिक सम्बन्ध विच्छेद गरे पनि कतारले उत्साहप्रद किसिमबाट ऋणपत्र बिक्री गरेको छ । 

'कतारले अन्तर्राष्ट्रिय वित्तीय बजारमा सफलता हासिल गरेको छ, र तीन पटक जारी गरिएको ऋणपत्रबाट १२ अर्ब डलर प्राप्त भएको छ', मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले ऋणपत्रका लागि ५० अर्ब डलरभन्दा बढीको आवेदन प्राप्त भएको पनि स्पष्ट गरेको छ । 

हाल साउदी अरेबियाको अग्रसरताको खाडी राष्ट्रहरुको गठबन्धनले कतारलाई सन् २०१७ देखि आर्थिक तथा राजनीतिक रुपमा एक्ल्याउने प्रयत्न गरेको छ ।

यो गठबन्धनमा संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले पनि समावेश छन् । कतारमाथि आतङ्कवादी सङ्गठनहरुलाई सघाएको तथा साउदी अरबको विपक्षमा रहेको इरानलाई सहयोग गरेको आरोप छ । 

दोहाले भने त्याे आरोपहरु अस्वीकार गरेको छ । सत्ता परिवर्तन गर्न चाहने तत्वको उक्साहटमा कतारलाई एक्ल्याउने प्रयत्न भएको कतारको भनाइ छ । 

सन् २०१८ मा पनि ग्यासको धनी राष्ट्र कतारले १२ अर्ब डलरको ऋणपत्र बिक्री गरेको थियो । गएकाे वर्ष कतारको तुलनामा साउदी अरेबियाले ११ अर्ब डलरको ऋणपत्र मात्र बिक्री गरेको थियो । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया