एसीसी प्रिमियर कप सेमिफाइनल : नेपालले यूएईलाई दियाे १ सय २...
बैशाख ७, २०८१ शुक्रबार
ताप्लेजुङ – प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले पाथीभरा देवीको मन्दिरमा जाँदा कहिल्यै पनि सात जना एउटै हेलिकप्टरमा नचढेको बताउनुभयो ।
भट्टराईले पाथीभराबाट हेलिकप्टरमा सात जना चढाएर लैजानुले दुर्घटनाका बारेमा विभिन्न आशंका उब्जाएको बताउनुभयो । ‘ताप्लेजुङको घुन्सामा २०६३ सालमा पनि हेलिकप्टर दुर्घटना भएर ठूलो क्षति ब्यहोर्नुपरेको थियो, यसपटकको दुर्घटनाले पनि धेरै आशंका उब्जाएका छन्’, उहाँले भन्नुभयो । पाथीभरामा जाँदा हेलिकप्टरबाट फुङलिङमा रहेको आर्मीको ब्यारेक वा सुकेटारमा छोडेर ४ जना मात्र जाने गरेको उहाँले बताउनुभयो ।
सरकारले घटनाको अध्ययन गर्न छानबिन समिति गठन गरिसकेकाले सत्यतथ्य बाहिर आउनेमा आफू विश्वस्त रहेको भट्टराईले बताउनुभयो । हिमाली क्षेत्रको भूगोल विकट र मौसम पनि परिवर्तनशील हुने हुँदा त्यस क्षेत्रको हवाई उडानमा विशेष ध्यान दिनुपर्नेमा सांसद भट्टराईले जोड दिनुभयो । दुर्घटनाको जोखिम पहाड र तराई सबैतिर हुने भन्दै उहाँले सावधानी अपनाए क्षति न्यूनिकरण गर्न सकिने बताउनुभयो ।
पाथीभरा सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न अन्तरष्ट्रिय उच्च पदस्थ व्यक्तिहरुलाई भ्रमण गराउने प्रयास भइरहेको समेत भट्टराईको भनाइ थियो । ‘पर्यटन व्यवसाय ताप्लेजुङको समृद्धिको आधारस्तम्भ हो’, उहाँले भन्नुभयो, ‘त्यसैले यो जिल्ला सुरक्षित रहेको सन्देश दिनका लागि भारतको पश्चिम बङ्गाल र सिक्किमका मुख्यमन्त्रीलाई समेत छिट्टै ल्याउने प्रयास गरिरहेका छौँ ।’
ताप्लेजुङमा २०६३ सालमा पनि हेलिकप्टर दुर्घटना हुँदा तत्कालीन वन राज्यमन्त्री गोपाल राईसहित २४ जनाको मृत्यु भएको थियो । दुवै दुर्घटनामा निधन भएकाको स्मृतिमा पुङलिङमा एउटा स्मृति पार्क बनाउने पहल गरिने भट्टराई बताउनुभयो ।
श्रद्धाञ्जली सभामा बोल्दै उहाँले पछिल्लो पुस्तामा सम्भावना बोकेका नेता र अहिलेको सरकारका गतिशील मन्त्रीको रुपमा रवीन्द्र अधिकारीलाई सम्झिनुभयो ।
दुर्घटनाको अघिल्लो दिन पनि ताप्लेजुङको सुकेटार विमानस्थलको स्तरोन्नतिका विषयमा अधिकारीसँग भट्टराईले कुरा गरेको बताउनुभयो ।
नेकपाले मन्त्री अधिकारी र पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको सम्झनामा फुङलिङमा श्रद्धाञ्जली सभा गरेको थियो ।