मोरङका ३ विद्यालयमा शिक्षामन्त्रीको अनुगमन,  भेटिए पढाइ नै नहुनेदेखि नमूना विद्यालयसम्म

 फागुन २३, २०७५ बिहिबार २०:८:१९ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको नेतृत्वमा बुधबार विराटनगरका विभिन्न सामुदायिक विद्यालयहरुको अनुगमन गरिएको छ ।

विराटनगर-१९, मा रहेको जागृति आधारभूत विद्यालय, पोखरिया माध्यमिक विद्यालय र मोरङको बुढीगंगा गाउँपालिका-१ टंकीसिनवारीमा रहेको नरग्राम माध्यामिक विद्यालयको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा पोखरिया माध्यमिक विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले विद्यालयको अवस्थाका बारेमा जानकारी गराउनुभएकाे थियाे ।

उहाँले विद्यालयमा जग्गाको अभाव रहेको, विद्यालय ५ कटठा ६ धुरमा सञ्चालन भैरहेको, दुई सिफ्टमा कक्षा सञ्चालन गरिरहेको, जग्गााको अभावले गर्दा नमूना विद्यालयको रुपमा स्वीकृति नपाएकोलगायतका समस्या मन्त्री पोखरेललाई जानकारी गराउनु भयाे ।

यस्तै नरग्राम विद्यालयले दुई सिफ्टमा कक्षा सञ्चालन गरेको हाल विद्यालयमा १४ सय ४० जना विद्यार्थी रहेको, नमूना विद्यालयको स्वीकृति पाएको, विद्यालयको रिजल्ट शत प्रतिशत नभए पनि सन्तोषजक रहेको विद्यालयका प्रअ भीमबहादुर बस्नेतले जानकारी गराउनुभयाे ।

यसै क्रममा बैजनाथपुरमा रहेको जागृति आधारभूत विद्यालयको भौतिक अवस्था राम्रो भए पनि विद्यालय व्यवस्थापन समितिका सदस्यहरुले विद्यालयका शिक्षक प्रअ गणेश अधिकारी नियमित विद्यालय नआउनुले विद्यालयको अवस्था बिग्रिएको गुनासो सुनाए ।

अनुगमनका क्रममा मन्त्री पोखरेलले शिक्षालाई प्रविधिसँग जोडेर अगाडि बढाउन आग्रह गर्नु्भयाे । उहाँले विद्यार्थी कमजोर देखिएमा किन विद्यार्थी कमजोर छन भन्नेतर्फ ध्यान दिइ शिक्षकहरुलाई अगाडि बढ्न निर्देशन पनि दिनुभयाे ।

उनले राष्ट्रिय शिक्षा नीति निर्माणको अन्तिम चरणमा रहेको बताउँदै सबैको सुझाव लिएर अगाडि बढ्ने पनि स्पष्ट पारे । अनुगमनमा मन्त्रालयका लेखा उपसचिव इन्द्रमणि पोखरेल, राष्ट्रिय परीक्षा बोर्डका निर्देशक दीर्घध्वज चापागाईँ, पत्रकार, शिक्षा क्षेत्रका जानकारहरुको सहभागिता थियो । 

अन्तिम अपडेट: चैत १६, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया