विप्लवको गाउँमा प्रहरीको सर्च अपरेशनविरुद्ध उत्रिए विद्यार्थी र सर्वसाधारण

 फागुन २३, २०७५ बिहिबार २०:२०:४८ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – प्रहरीले नेत्रविक्रम चन्द विप्लव समूहका एक जनालाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । 

नेत्रविक्रम चन्द विप्लवको गाउँ कपिलवस्तुको शिवराज नगरपालिका–९, मा प्रहरीले चलाएको सर्च अभियानका क्रममा घरबाट भागेका दुर्गाबहादुर रोकालाई गोली प्रहार गरेर प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीले प्रहार गरेको गोली रोकाको खुट्टामा लागेको छ । भाग्दै गरेका रोकालाई खुट्टामा गोली प्रहार गरेर नियन्त्रणमा लिइएको कपिलवस्तुका प्रहरी उपरीक्षक अच्युतम पुडासैनीले बताउनुभयो । खुट्टामा गोली लागेका रोकाको बुटवलमा रहेको अञ्चल अस्पतालमा उपचार भइरहेको छ । 

उनको घरबाट प्रहरीले दुई वटा एसएमजी, एउटा चाइनिज पेस्तोल र २०२ राउन्ड गोली बरामद गरेको पनि प्रहरी उपरीक्षक पुडासैनीले जानकारी दिनुभयो । त्यस्तै, केही तार, रिमोट डिभाइस, डायरी, कागजपत्र र महत्वपूर्ण दस्तावेज बरामद गरिएको उहाँले बताउनुभयो ।  

यस्तै स्थानीय यादव चन्दको घरमा खानतलासी गर्न खोज्दा भने स्थानीय र प्रहरीबीच झडप भएको छ । स्थानीय नेपाल आदर्श आधारभूत विद्यालयका प्रधानाध्यापकसमेत रहेका चन्दको घरमा कुनै पनि हालतमा खानतलासी गर्न नदिने भन्दै विद्यालयका विद्यार्थीहरु र स्थानीयले प्रतिकार गरेपछि झडप भएको थियो । 
प्रहरीले घर खानतलासीको पूर्जीबिना नै गाउँभरिका घरमा पस्न खोजेको भन्दै प्रहरीको सर्च अपरेशनविरुद्ध स्थानीय प्रतिकारमा उत्रिएका थिए । 

आक्रोशित विद्यार्थीहरुले ढुंगा प्रहार गर्दा २ जना प्रहरी सामान्य घाइते भएका छन् । प्रहरी जवानहरु अमर वली र पुतली चौधरी घाइते भएको वडा प्रहरी कायालय चन्द्रौटाले जनाएको छ ।

गाउँमा नेत्रविक्रम चन्द विप्लव समूहले हातहतियार भण्डारण गरेको भन्ने खबरका आधारमा प्रहरीले गाउँमा सर्च अभियान सञ्चालन गरेको थियो । सर्च अभियानलाई अघि बढाउने क्रममा विद्यार्थीहरुले अवरोध सिजना गरेपछि मुठभेड रोक्न अहिलेलाई सर्च अभियान स्थगित गरेको प्रहरी उपरीक्षक पुडासैनीले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया