विभेद र कूरीतिको अन्त्य गरी न्याय र समानतामा आधारित समाज निर्माण गर्नुपर्छ : प्रधानमन्त्री ओली

 फागुन २४, २०७५ शुक्रबार ६:५०:२४ | रासस
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले १०९ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले महिलाको आर्थिक तथा सामाजिक सशक्तिकरणमार्फत् सारभूत समानतासहितको समतामूलक समाजको निर्माण गरी समृद्धिको यात्रामा अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ । 

प्रधानमन्त्री ओलीले समानताको सोचलाई प्रवर्द्धन गर्दै महिलाको राजनीतिक, आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार सुनिश्चित गर्न आफ्नो जीवनअर्पण गर्नुहुने सम्पूर्ण श्रद्धेय व्यक्तित्वको स्मरण गर्नुभएको छ ।

परापूर्वकालमै नेपाली समाजमा नारीको सम्मान गर्ने प्रचलन रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले पौराणिककालदेखि प्रचलित ‘यत्रनार्यस्तु पुज्यते तत्र रमन्ते देवता’ भन्ने लोकोक्तिले नेपाली समाजको विशेषतालाई दर्शाएको बताउनुभएको छ । 

“तर नारीलाई पूजा गर्दा ईश्वर पनि खुशी हुने विश्वासमा रहेको नेपाली समाजमा आज पनि कतिपय कूरीति चुनौतिका रुपमा रहेका छन् । तसर्थः हामीले धार्मिक ग्रन्थमा व्याख्या गरिएकी नारी र व्यवहारमा देखिने नारीको अवस्थाका बीचमा विद्यमान खाडल पुर्नसक्नै पर्दछ”, प्रधानमन्त्रीले भन्नुभएको छ, “हाम्रो समाजमा विद्यमान दाइजो प्रथा, बोक्सीको नाममा हुने ज्यादति, छाउपडीजस्ता कूरीतिका साथै यौन दुव्यर्वहार र हिंसाका घटनाले नारीको सम्मान गर्ने हाम्रो मौलिक सभ्यतालाई चुनौति दिइरहेका छन् । अब हामीले विलम्ब नगरी विभेद र कूरीतिको अन्त्य गर्दै न्याय र समानतामा आधारित सभ्य समाज निर्माण गर्न सक्नुपर्दछ ।” 

प्रधानमन्त्रीले शासकीय पद्धतिमा भएको परिवर्तनसँगै सङ्घीय संरचनामा महिलाको प्रतिनिधित्वमा राजनीतिक, आर्थिक एवम् सामाजिक क्षेत्रमा उल्लेख्यरुपमा वृद्धि भएकामा खुशी व्यक्त गर्नुभएको छ । 

“मातृ मृत्युदरमा सुधार, महिलाको कूल साक्षरता दरमा वृद्धि तथा उनीहरुको आर्थिक सशक्तिकरण भइरहेको तथ्याङ्कले देखाएका छन् । पैतृक सम्पत्तिमा समान हक, सामाजिक सुरक्षा र सामाजिक न्यायका लागि भएका नीतिगत र कानूनी व्यवस्थाका कारण सुधारका लक्षण देखिन थालेका छन् । राज्यका विभिन्न अङ्गमा महिलाको सहभागिता बढ्दै गएको छ”, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उहाँका प्रेस संयोजक चेतन अधिकारीले बताउनुभयो । 

महिला र पुरुषबीच सारभूत समानता कायम गर्न नीतिगत, संस्थागत तथा कार्यक्रमगत प्रयास हँदाहुँदै पनि समाजमा कुनै न कुनै परिमाणमा पितृसतात्मक सोच कायमै रहनु र महिलालाई विकासका सबै चरणमा सारभूत सहभागिता गराउन नसक्नु हामीले परास्त गर्नै पर्ने चुनौती रहेको प्रधानमन्त्रीले बताउनुभएको छ ।

उहाँले आज पनि लैङ्गिक हिंसा तथा गरीबीको प्रभाव महिलामा बढी परेको र यस्तो अवस्थामा परिवर्तन गर्न आधा आकाश र आधा धर्ती ओगट्ने महिलाको जीवनस्तरमा सारभूत परिवर्तन नहुँदासम्म समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय सङ्कल्प साकार नहुने उल्लेख गर्नुभएको छ । महिला सशक्तीकरणका लागि सङ्घ, प्रदेश र स्थानीय तहले आआफ्नो स्थानबाट नयाँ सोचका साथ नीति योजना र कार्यक्रम तय गरी लागू गर्नेछन् भन्ने कुरामा आफू विश्वस्त रहेको सन्देशमा उल्लेख छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया