प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति नेता नेपालको असन्तुष्टि

 फागुन २४, २०७५ शुक्रबार १२:२८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली प्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । 

वरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष ओलीप्रति संकेत गर्दै पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउन नखोज्दा दुई पार्टीबीचको सांगठानिक एकीकरणको काम अझै टुंगो लाग्न नसकेको दावी पनि गर्नुभयो ।

उहाँले पूर्व एमाले र पूर्व माओवादी केन्द्रबीच कुनै समस्या नभए पनि पार्टीलाई विधि र प्रक्रिया अनुसार अघि बढाउन नचाहाँदा पार्टीको सांगठानिक एकीकरणको काममा ढिलाई भैरहेको पनि बताउनुभयो । शुक्रबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले पार्टीको राजनीतिक प्रतिवेदन अझै नछापिएकोमा पनि आपत्ति जनाउनु भयो ।

वरिष्ठ नेता नेपालले आफूले अनेकौ पटक भन्दा पनि पार्टीको राजनीतिक प्रतिवेदन अझै नछापिनु बिडम्बनापूर्ण भएको पनि बताउनुभयो । 

उहाँले ठूलो पार्टी चलाउन विधि र प्रक्रिया चाहिने भए पनि पार्टी नेतृत्वले ‘एस म्यान’को खोजी गर्दा संगठन एकीकरणको काम अझै टुंगो लगाउन नसकिएको दावी पनि गर्नुभयो । पार्टीलाई विधिसम्मत ढंगले अघि बढाए दुई पार्टीबीचको सांगठानिक एकीकरणको काम एक महिना भित्रै सम्पन्न हुने वरिष्ठ नेता नेपालको भनाई छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया