नेपाल सरकार र सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति

 फागुन २४, २०७५ शुक्रबार १४:१२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल सरकार र सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच मधेस र देशमा देखिएको मतभेदको समाधान जन अभिमतमा आधारित लोकतान्त्रिक विधिमार्फत समाधान गर्ने ११ बुँदे सहमति भएको छ । 

राष्ट्रियसभागृहमा भएको राजनीतिक सहमति घोषणा कार्यक्रममा सरकारको पक्षबाट गृहमन्त्री रामबहादुर थापा बादल र गठबन्धनका संयोजक सिके राउतले ११ बुदे सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो ।  

मधेशमा पृथकतावादी गतिविधि सञ्चालन गरिरहेका सीके राउतले अखण्ड नेपाल स्वीकार गरेपछि सहमतिपत्रमा हस्ताक्षर हुन पुगेको हो ।  

स्वतन्त्र मधेस गठबन्धनका नेता कार्यकर्तामाथि लगाइएको मुद्धाहरु फिर्ता लिने र पक्राउ परेकाहरुलाई निशर्त रिहा गरिने सहमति भएको छ । 

यस्तै गठबन्धनले स्वतन्त्र तराईको माग गर्दै किताब, पर्चा, पम्प्लेट, झण्डा, गीत जस्ता बस्तुहरु कुनै पनि प्रकाशन प्रसारण नगर्ने, त्यही किताब, पर्चा पम्प्लेटको विषयलाई लिएर गठबन्धनका कार्यकर्तालाई धरपकड गर्न नपाउने उल्लेख छ ।  

गएको भदौ १५ मा प्रहरी हिरासतमा मृत्यु भएका आफ्ना कार्यकर्ता राममनोहर यादवको परिवारलाई उचित क्षतिपूर्ति र परिवारका एक जनालाई रोजगारी दिने र आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार सरकारले ब्यहोर्ने सहमति भएको छ । 

स्वतन्त्र मधेस गठबन्धनलाई अबदेखि लोकतान्त्रिक राजनीतिक दलको रुपमा हेर्ने पनि सहमति भएको छ ।  

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया