स्वतन्त्रता के हो भन्ने कुरा जेल बसेपछि थाहा पाएँ : सिके राउत

 फागुन २४, २०७५ शुक्रबार १५:३४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सिके राउतले आफूहरुको संघर्ष कुनै समुदाय लक्षित नभइ अधिकारको लडाईँ रहेको बताउनुभएको छ । 

राष्ट्रिय सभागृहमा आयोजित राजनीतिक सहमति घोषणा कार्यक्रममा राउतले आफूहरुको क्रियाकलाप पहाडको सिन्धुपाल्चोक, दैलेख लगायतका जिल्लामा पनि रहेकाले यसलाई कुनै एक समुदायसँगको आन्दोलनसँग मात्रै नजोड्न आग्रह गर्नुभयो ।

‘हिसांत्मक आन्दोलन गर्न सजिलो छ । अरुलाई ढुंगा हान्न सजिलो छ,’ उहाँले भन्नुभयो, ‘तर यसमा आफूलाई टिकाइराख्न गारो रहेछ ।’

आफूहरुको शान्तिपूर्ण आन्दोलनमा राज्यपक्षबाटै हिंसा भए पनि आफ्ना कार्यकर्ताहरुले भने धैर्यवान बनेर, सहेर यहाँसम्म साथ दिएकोमा सबै कार्यकर्तालाई धन्यवाद पनि दिनुभयो । 

जन–अभिमत मार्फत लोकतान्त्रिक व्यवस्थाबाट देशमा देखिएका तमाम समस्या समाधान गर्न सरकार तयार भएपछि आफूहरु मूलधारको राजनीतिमा फर्किन तयार भएको उहाँले बताउनुभयो ।   

सरकारसँग भएको सहमति कुनै एउटा समुदाय र वर्गको लागि मात्रै नभइ यो राज्य र जनताको जित भएको उहाँले बताउनुभयो । यसलाई कसैले पनि आफ्नो स्वार्थ अनुकुल विश्लेषण गर्ने काम नहोस् भन्ने पनि बताउनुभयो । 

हिंसात्मक आन्दोलनमा लागेर समय खेर फाल्ने अवस्था अहिले नरहेको भन्दै विकास र समृद्धितर्फ देशलाई डोहोर्याउन आफूहरु सरकारसँग सहमति गरेर अघि बढ्न तयार रहेको उहाँले बताउनुभयो । 

‘अब हामीलाई हिंसात्मक आन्दोलन गरेर समय खेर फाल्ने समयको छुट छैन,’ उहाँले भन्नुभयो, ‘जनता सार्वभौम छन् । अब जनमत प्रयोग गर्ने काम जनताको हो । अधिकार हासिल गर्ने काम अधिकार प्राप्त गर्ने काम । सबै अधिकार जनताको हातमा छ ।’ 

सबै अधिकार जनताकै हातमा रहेकाले जे हासिल गर्नु छ, जस्तो अधिकार ल्याउनु छ, अब जनताले नै गर्ने स्पष्ट व्यवस्था भएकाले समस्त देशको हित र समृद्धिका लागि आफूहरु सरकारसँग मिलेर अघि बढ्न सहमत भएको संयोजक राउतले बताउनुभयो । 

जेल बसाइको अनुभव 

संयोजक राउतले कार्यक्रममा सम्बोधनका क्रममा आफ्नो ५ महिने जेल बसाइलाई पनि सम्झनुभयो ।  

जति बाहिर बसेर स्वतन्त्रताको कुरा गर्छौँ, चाहे वैचारिक स्वतन्त्रता होस, चाहे वाक् स्वतन्त्रता होस्, वा अन्य जति पनि स्वतन्त्रताको कुरा होस् त्यसको वास्तविक अनुभूति जेलमा पुगेपछि आफूले पाएको उहाँले बताउनुभयो । 

‘स्वतन्त्रता के हो भन्ने कुरा त्यो खोसिएपछि थाहा हुने रहेछ,’ उहाँले भन्नुभयो, ‘त्यो थाहा पाउन एक दिन मात्रै भए पनि जेल बसेर अनुभव लिनुपर्ने रहेछ ।’  

प्रधानमन्त्री आफै पनि १४ वर्ष जेल बसेको अनुभव रहेकाले उहाँको अगाडि जेलको अनुभूति सुनाउनु भनेको सूर्यलाई दियो देखाउनु जस्तै भए पनि जेलभित्रको समस्या पुन स्मरण गराउन चाहेको उहाँले बताउनुभयो ।  

अहिले देशैभरका जेलको अवस्था ठिक छैन, भौतिक पूर्वाधार छैन त्यो सुधारतिर पनि सरकार लाग्नुपर्ने बताउनुभयो ।  आफूले पाँच महिनासम्म जेलको नुन खाएको भएर पनि त्यहाँको वास्तविकता सरकारसँग राखेको उहाँले बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया