समझदारी नविकरणमा नेपालले गरेको प्रस्तावमा युएईले पठायाे सकारात्मक जवाफ

 फागुन २४, २०७५ शुक्रबार १५:४१:५६ | उज्यालो सहकर्मी

काठमाण्डौ – दुई देशबीचको श्रम समझदारी नविकरणका लागि नेपालले राखेको प्रस्तावमा संयुक्त अरब इमिरेट्स (युएई)ले सकारात्मक जवाफ दिएको छ । 

नेपालले यूएईसँग नेपाली कामदार शून्य लागतमा ल्याउन र २४ घण्टे बीमाको व्यवस्थासहितको प्रस्ताव राखेकोमा युएईले धेरै विषयमा सकारात्मक जवाफ पठाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

समझदारी नविकरणका विषयमा छलफल गर्न नेपाली प्राविधिक टोलीले गएको माघ १६ र १७ गते युएई पुगेर छलफल गरेको थियो । छलफलमा नेपालले गरेको प्रस्तावमा युएईले केही दिनअघि आफ्नो जवाफ पठाएको मन्त्रालयका एक अधिकारीले उज्यालोलाई जानकारी दिएका छन् ।

उनले युएईले पठाएको जवाफको अध्ययन भइरहेको  बताए । यूएईको दुबई र आबुधाबीको श्रम तथा मानव संसाधन मन्त्रालयमा भएको छलफलमा शून्य लागतमा कामदार लान, २४ घण्टे बीमाको व्यवस्था गर्न, कामदारको सुरक्षा र सेवा सुविधाका बारेमा प्रस्ताव राखेको हो ।

छलफलपछि दुवै पक्षले थप छलफल आवश्यक रहेको देखिएको बताएका थिए । यूएईले पठाएको प्रस्ताव अध्ययन गरेरसम्झौताको खाका तयार पार्ने सरकारको तयारी छ । दुई देशबिचको छलफलमासहमति भएका विषय र कानुनका आधारमा परिमार्जन गर्नुपर्ने विषय टुङगाएर दुवै पक्षको छलफलपछि मन्त्रीस्तरमा छलफल गरेर सम्झौतामा हस्ताक्षर गर्ने सरकारको भनाई छ ।

सरकारले श्रम सम्झौताको मस्यौदा टुंगो लगाउन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा वैदेशिक रोजगार महाशाखा प्रमुख डाक्टर रामप्रसाद घिमिरेको नेतृत्वमा पाँच सदस्यीय टोली ओमान र यूएई पठाएको थियो । नेपालले यूएईसँग सन् २००७ मा गरिएको श्रम सम्झौता नवीकरण गर्न लागेको हो ।

यूएईभन्दा अघि छलफल गरिएको ओमानले भने अहिलेसम्म आफ्नो जवाफ पठाएको छैन । मलेसिया, यूएई, ओमान, कतार तथा खाडीका देशसँग श्रम सम्झौता गर्ने र त्यसलाई थप प्रभावकारी बनाउने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको प्रस्तावमा सरकारले कार्यदल बनाएर काम गरिरहेको छ । 
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया