इमरान खानको नियत ठिक छ तर मोदीले यसरी कुरा गरिरहेका छन् कि... : परवेज मुशर्रफ

 फागुन २५, २०७५ शनिबार ८:५८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

भारत–पाकिस्तानबीच अहिले पनि तनाव नै कायम रहेको छ । कश्मीरको पुलवामामा भएको आक्रमणदेखि भारतीय वायु सेनाका पाइलट अभिनन्दनको रिहाइसम्म आइपुग्दा पनि दुई देशबीच सौहार्दतापूर्ण सम्बन्ध विकास हुन सकेको छैन । हरेक दिन सीमामा गोली चलेको छ । 

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले वार्ताबाट समस्याको हल निस्कने बताएका छन् भने भारतले वार्ताका लागि कुनै तत्परता देखाएको छैन । भारतले माग गरेझैँ नै पछिल्लो समय पाकिस्तान चरमपन्थी समूहप्रति कठोर कदम चाल्दै गएको छ ।

पछिल्लो घटनाक्रमका बारेमा पाकिस्तानी पूर्व राष्ट्रपति परवेज मुशर्रफसँग बीबीसी हिन्दीकी संवाददाता भूमिका रायले कुरा गरेकी छिन् । प्रस्तुत छ बीबीसीमा हिन्दीमा प्रकाशित अन्तर्वार्ताकाे अनूदित अंश :

सञ्चार माध्यममा तपाईँलाई उद्धृत गर्दै पाकिस्तानी गुप्तचर एजेन्सीले जैश–ए–मोहम्मदलाई प्रयोग गर्छ भनिएको छ । यो कुरामा कति सत्यता छ ?

मैले पाकिस्तानी गुप्तचर एजेन्सीले जैश–ए–मोहम्मदलाई प्रयोग गर्छ भनेर कहिल्यै भनेको छैन । बरु मैले यो चाहिँ भनेको हूँ कि भारतीय गुप्तचर संस्था र हाम्रो देशमा बलूचिस्तानमा आतंकवादी समूहलाई समर्थन गर्छ । त्यस्तै हाम्रा मान्छे पनि भारतमा त्यस्तै गर्छन् । यो दुवै तर्फबाट रोकिनुपर्छ । मैले बारम्बार यही भन्दै आएको छु । यस्तो काम दुवै देशबाट भएको छ ।

मैले यो कुरा पाकिस्तानका लागि मात्रै कहिल्यै भनेको छैन । 

पुलवामा आक्रमणपछि भारतले एयर स्ट्राइक अर्थात हवाई आक्रमण गर्‍यो । यस बारेमा तपाईँ के भन्नुहुन्छ ?

भारतले एकदमै गलत गर्‍यो । मैले यसलाई कहिल्यै सही मान्न सक्दिनँ । यो निकै गलत काम हो । तपाईँ कसरी हाम्रो देशमा आक्रमण गर्न सक्नुहुन्छ । हामी गर्न दिनेछैनौँ । हामी जवाफी आक्रमण गर्नेछौँ । त्यही भयो । कुरा अगाडि बढ्यो र युद्धको तयारी सुरु भयो । 

नियन्त्रण रेखा नाघेर आउनु वा अन्तर्राष्ट्रिय सीमापार आउनुलाई पाकिस्तानले कहिल्यै अनुमति दिन सक्दैन ।

तपाईँ जैश–ए–मोहम्मदलाई आतंकवादी संगठन मान्नुहुन्छ तर लश्करलाई मान्नुहुन्न, किन ?

ठिक कुुरा हो । उनीहरुले(जैश–ए–मोहम्मद) पाकिस्तानमा ममाथि आक्रमया गरे । आफ्नै देशमा आक्रमण गर्ने र आफ्नै नागरिकलाई आक्रमण गर्नेहरु आतंकवादी हुन् । तर कश्मीरमा मात्रै केन्द्रित भएकाले लश्कर आतंकवादी संगठन होइन भन्ने मेरो बुझाइ हो । 

त्यो मुजाहिदीन एक्टिभिटी हो । त्यो सुरु भएको झण्डै २० वर्ष भयो । यो अलग–अलग कुरा हो । एकै नजरले हेर्न मिल्दैन ।

तर रक्तपात त लश्करले पनि मच्चाएको छ त ? यसका बाबजुद तपाईँ लश्करका प्रमुख हाफिज सईदको प्रशंसक भएको बताउनुहुन्छ । हाफिज सईदको नाम मुम्बईमा भएको २६–११ आक्रमणमा समेत जोडिएको छ ।

पहिलो कुरा त भारतमा हुने आक्रमणमा .हाफिज सईदको नाम जोड्ने काम गलत हो । मुम्बई आक्रमणमा हाफिज सईद संलग्न थिए भन्नु ठिक होइन । 

तर संयुक्त राष्ट्र संघले पनि त लश्करलाई आतंकवादी संगठन घोषणा गरेको छ । तपाईँ चाहिँ कसरी लश्करको बचाउ गर्नुहुन्छ ?

प्लीज... मलाई यूएनको बारेमा नसिकाउनूहोस् । मलाई राम्रोसँग थाहा छ कि त्यहाँ कसरी रेजोल्यूशन पास हुन्छ । उनीहरु न्यायसंगत हुँदैनन् । उनीहरु प्रभावबाट प्रेरित हुन्छन् । हामी चाहन्छौँ कि कश्मीर समस्या हल होस् ताकि यो सब सिलसिला खत्तम होस् । यदि हामी हल गर्दैनौँ भने यो सिलसिला चलिरहन्छ । जबसम्म कश्मीर समस्या समाधान हुँदैन यस प्रकारका आक्रमण भै नै रहन्छ । 

आज तपाईँ लश्करलाई आतंकवादी संगठन मान्न तयार हुनुहुन्न । राष्ट्रपति हुँदा खेरी चाहिँ त्यसो भए उनीहरुमाथि किन प्रतिबन्ध लगाएको त ?

हो, त्यतिबेला मलाई लश्करको बारेमा पूरा जानकारी थिएन, त्यसैले त्यस्तो फैसला गरेको थिएँ । त्यसका प्रमुख क्याडर धार्मिक युवा हुन् । लश्करले उनलाई मानिसको भलाइका लागि नै काम गराउँदैछ ।

यदि यी युवालाई यस्ता काममा लगाइएन भने पछि यिनै तालिबान लडाकु बन्नेछन् । हतियार उठाउनेछन् । त्यसैले लश्करको सकारात्मक पाटो पनि हामीले हेर्नुपर्छ । 
तर धर्मका नाममा बालबालिकालाई हतियार दिने कामलाई चाहिँ तपाईँ कसरी ठिक भन्न सक्नुहुन्छ ?

यिनीहरुको कसैले ब्रेनवाश गरेको छैन । आफ्नै इच्छाले यहाँ छन् । आफ्नो ज्यान हत्केलामा राखेर यिनीहरु कश्मीरका दाजुभाइको सहयोगका लागि पुग्छन् ।

उनीहरु आफ्नै तरिकाले कश्मीरीलाई सघाइरहेका छन् । पाकिस्तानी सरकारले उनीहरुलाई उकासेको छैन । उनीहरुको आफ्नै छनोट प्रक्रिया रहेको छ । लश्करमा प्रवेश गर्न हजारौँ मानिस वेटिङ लिस्टमा बसेका छन् । यसलाई पाकिस्तानी सरकारले कसरी रोक्न सक्छ । नागरिक पनि उनीहरुको साथमा छन् ।

तपाईँले पाकिस्तानले डिक्टेटरशिपमा सधैँ राम्रो गरेको छ भन्नुहुन्छ । यस्तोमा इमरान खानको कार्यकाललाई कसरी हेर्नुहुन्छ ?

जुनसुकै सिस्टम भए पनि त्यसको उद्धेश्य नागरिकको खुशी हुनुपर्छ भन्ने मलाई लाग्छ । देशले प्रगति गर्नुपर्छ । मैले सधैँ भन्ने गरेको छु कि जब-जब पाकिस्तानमा मिलिट्री म्यान आएका छन् त्यसले पाकिस्तानको प्रगति भएको छ । यो कुनै लुकेको कुरा होइन । 

त्यो चाहे अयूब खानको पालामा होस् वा मेरो पालामा, पाकिस्तानको इन्फ्रास्ट्रक्चर, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा निकै विकास भएको छ । अब कोही सुन्नै तयार छैन भने त के गर्ने...?

डेमोक्रेसी–डेमोक्रेसी । के हामीले डेमोक्रेसीलाई चाटेर बसिरहने हो ? जुन डेमोक्रेसीले नागरिकका लागि काम गर्दैन, त्यसको के काम ?

वर्तमान पाकिस्तानलाई तपाईँ परिवर्तित पाकिस्तानको रुपमा हेर्नुहुन्छ ?

एकदम सही । पाकिस्तानका लागि पछिल्लो एक दशकलाई मैले डेकेड अफ् डिजास्टर(बबार्दीको दशक) भन्न चाहन्छुु । यो समय सबैले डेमोक्रेसी चलाइरहेका थिए तर नागरिक पिल्सिएका थिए । पिउनलाई पानी छैन, खानलाई खाना छैन, यस्तो डेमोक्रेसीले के गर्ने ?  

अब इमरान खान आएका छन् । परिवर्तन ल्याउने बाटोमा काम गरिरहेका छन् । उनको नियत ठिक छ, राम्रो काम गरिरहेका छन् ।

तर पाकिस्तानमा जोसकुै प्रधानमन्त्री होस्, सत्ताको तालाचाबी त सेनाको हातमा हुन्छ भनिन्छ । यसमा चाहिँ के भन्नुहुन्छ तपाईँ ?

यो सबै प्रोपोगाण्डा फैलाइएको छ । आर्मीले केही पनि गर्दैन । यो कुरा मात्रै हो । पाकिस्तानका बारेमा नराम्रो मात्रै भन्ने बानी छ । इमरान खानले राम्रो काम गरिरहेका छन् । भारतलाई केबल पाकिस्तानका बारेमा नराम्रो गर्नु छ । हामीलाई भारतका लागि राम्रो नेता होइन कि पाकिस्तानका लागि नै राम्रो नेता चाहिएको छ । 

त्यसो भए इमरान खान जस्तो सोच राख्छन्, त्यसले भारत–पाकिस्तान समस्या हल हुन्छ जस्तो लाग्छ तपाईँलाई ?

तपाईँ इमरानको कुरा किन गर्नुहुन्छ । मोदीजीको तर्फबाट यो समस्याकाे हल हुँदैन र । इमरान खान त पूरा प्रयास गरिरहेका छन् । तर तपाईँका प्रधानमन्त्री र बाँकी नेता टेलिभिजनमा कस्तो कुरा गरिरहेका छन् ? के त्यसबाट यो सबै हल हुन्छ जस्तो लाग्छ तपाईँलाई ?

यी टेलिभिजन च्यानलका कारण मानिसहरुमा घृणा भाव पैदा भएको छ । हामी सर्जिकल स्ट्राइक गर्दिन्छौँ । यो गर्छौँ, त्यो गर्छौँ...अरे, कसरी गर्नुहुन्छ ? 

भारतले यो बुझ्नु जरुरी छ कि पाकिस्तान एक शक्तिशाली राष्ट्र हो । त्यसलाई हल्का रुपमा नलिनूस । हरेक देशको आफ्नो सम्प्रभुता छ र त्यसको इज्जत गर्नुपर्छ ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया