‘अन्तर्राष्ट्रिय वालिङ–१०० माउन्टेन बाइक प्रतियोगिता’ सुरु

 फागुन २५, २०७५ शनिबार ९:१६:१७ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – वालिङमा शनिबार बिहान सात बजेबाट अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता सुरु भएको छ  । 

वालिङ नगरपालिकाको सहयोग तथा वन्डरफुल वालिङ पर्यटन विकास संस्थाको आयोजनामा प्रतियोगिता सञ्चालन भइरहेको हो । यसअघि फेब्रुअरी १ मा सञ्चालन हुने तय गरिएको प्रतियोगिता आजका लागि सारिएको हो । 

प्रतियोगितामा स्वदेशी तथा विदेशी खेलाडी गरी २७ जनाभन्दा वढी सहभागी भइरहेका वण्डरफुलका अध्यक्ष दिनकर नेपालले बताउनुभयो । माउण्टेन बाइक प्रतियोगिताले वालिङलाई पर्यटन गन्तव्यको रुपमा विकास गर्ने प्रमुख उद्देश्य रहेको उहाँले बताउनुभयो ।
 
प्रतियोगितामा २ पटकसम्म वर्ल्ड च्याम्पियन बनेका क्यानेडियन खेलाडी, भारतीय खेलाडी, आर्मी, एपीएफको समेत सहभागिता भएको अध्यक्ष नेपालको भनाइ छ । वालिङलाई साहसिक खेलको केन्द्र बनाउनका लागि प्रतियोगिताले सघाउ पुग्ने उहाँले बताउनुभयो । यहाँ रहेका संस्कार संस्कृति, पर्यटन र प्रकृतिका माध्यमबाट वालिङ तथा स्याङ्जामा पर्यटक भित्र्याउने र पर्यटनका विकास गरी यहाँका नागरिकको जीवनस्तर माथि उकास्ने उद्देश्यले स्थापित वण्डरफूल वालिङ यहाँका युवाहरुको संस्था हो ।
 
वालिङमा रहेका होमस्टेको प्रचारप्रसार गर्दै पर्यटक आगमनमा अभिवृद्धि गर्नका लागि प्रतियोगिताले सहयोग गर्ने अपेक्षा लिइएको छ । वालिङ नगरपालिका प्रमुख दिलिपप्रताप खाणले प्रतियोगिताको आयोजना गर्नु दुरगामी लगानी भएको भन्दै यसले पर्यटन र साहसिक खेलमा एउटा कोशेढुङ्गा सावित गर्नेे बताउनुभयो । साइकलको प्रयोग जो कोहीको लागि पनि स्वास्थ्यका दृष्टिकोणबाट निकै लाभदायक रहेको भन्दै उहाँले भन्नुभयो, ‘प्रतियोगिताले कालान्तरमा साइकललाई कल्चरको रुपमा विकास गर्नेछ ।’
 
पर्यटन प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय साइकल यात्रीलाई यहाँ भित्र्याउने वातावरण सिर्जना गर्ने भन्दै साइकल अभ्यासका लागि आँधीखोला करिडोर निर्माणको योजना रहेको समेत प्रमुख खाणले बताउनुभयो । एड्भेन्चर विकासका लागि साइकल टे«किङ रुटको विकास गर्न सके विदेशी पर्यटकलाई यहाँ आकर्षित गर्न सकिने उहाँले बताउनुभयो ।

प्रतिस्पर्धाको लागि साइकलिङ रुट वालिङको सुकौँदी बगरबाट सुरु भई त्रियासी, छापागाँउ, सिंगारकोट, माँझकोट, तलाथोक, मिनाङकोट, जगतभञ्याङ, केँवरे, चिहानडाँडा, काफलडाँडा, गह्रौँशुर मन्दिर, बजाकोट, दाङसेया, करादी, झोलुङगे, उदियाचौर, घुरुङखा, डुम्रेभञ्याङ, स्वरेकमैदान, टापु भञ्याङ, डौँवा हुँदै पुनः सुकौँदी आएर सय किलोमटिर यात्रा पूरा हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । प्रतियोगिता आज साँझ ५ बजे सकिने छ । प्रतियोगीहरुलाई रुटमा पर्ने विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरुमा स्थानीयले स्वागत गर्नेछन् । 

प्रतिस्पर्धामा सहभागी भएका र गति कम भएकाहरुलाई सहज हुनेगरी १०० किलोमिटरको दूरीलाई ४ भागमा विभिजन गरिएको छ । जसअनुसार २५,५०,७५ र १०० किलोमिटरको दूरी रहेको छ । प्रतिस्पर्धीले चार तहमध्ये जति दूरी पार गरेको छ त्यसैअनुसारको प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताका निर्देशक नेपालले जानकारी दिनुभयो ।

खेलको टाइटल पुरस्कार ५ लाख रुपैयाँ रहेको छ । जसमा महिला तथा पुरुषको संयुक्त प्रतिस्पर्धा रहनेछ भने प्रतियोगितामा पुरुष र महिलाको छुट्टाछुट्टै विजेतालाई पनि पुरस्कृत गरिनेछ । जसअनुसार पुरुषतर्फको विजेताले १ लाख ५० हजार र महिलातर्फ ३ लाख  रुपैयाँ नगद पुरस्कार पाउनेछन् उनीहरुलाई मेडल र प्रमाणपत्र पनि प्रदान गरिनेछ । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया