सारी लगाएर स्टेजमा पर्फम गर्न मन लाग्छ : अञ्जु पन्त

 फागुन २५, २०७५ शनिबार १२:४९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चर्चित गायिका अञ्जु पन्तले आफू फेसनेबल नभएको बताएकी छन् ।

राजधानीको डिल्लीबजारमा कुसुम बुटिकको उद्घाटन गर्दै यी चर्चित गायिकाले भनिन्, ‘म फेसन कन्सस पनि होइन । तर, स्टेज पर्फमेन्सले गर्दा फेसन गर्नु परिहाल्यो ।’

करिब दुई दशकयता सुगम संगीतमा महिला स्वरमा एकछत्र राज गर्दै आएकी अञ्जुले भनिन्, ‘मलाई त सारी लगाएर पर्फम गर्न मन लाग्छ किनकि पछिल्लो समय स्टेजमा सारी देखिनै छाड्यो ।’  

फेसन डिजाइनर कुसुम श्रेष्ठले सञ्चालन ल्याएको ‘कुसुम बुटिक’को उद्घाटनपछि आगन्तुक पाहुना तथा आफ्ना फ्यानहरुसँग तस्बिर खिचाउँदै उनले भनिन्, ‘म पनि निकै राम्री पो देखिएकी छु ।’  अञ्जुले कुसुम बुटिककै सिल्भर कलरको लेहेँगा र रानी कलरको गाउन पहिरिएर रिवन काटेकी थिइन् । 

पछिल्लो समय फेसन कन्सस नभए पनि अञ्जुले खाना–पानमा निकै ख्याल राख्न थालेकी छन् । उनले आफ्नो तौलसमेत ह्वातै घटाएकी छन् । केही महिनाअघि मात्र ६७ केजीकी अञ्जुले अहिले आफ्नो तौल ५० केजीमा झारेकी छन् । पत्रकारहरुसँग कुरा गर्दै भनिन्, ‘५० केजीभन्दा पनि कम छु होला । यो सबै खानपानकै करामत हो ।’  अञ्जु ठट्टा गर्न पनि माहिर छिन् । आफ्नो तौल अनपेक्षित रुपमा घटाएकी अञ्जुले ठट्टा गर्दै भनिन्, ‘अहिले त म मेरी छोरी भन्दा पनि सानी भएकी छु ।’ तौल घटाउनु र आफ्नो सुन्दरता झल्किँदै जानुमा ‘डाइटिङ’ नभएको पनि उनले स्पष्ट पारिन् । ‘म डाइटिङ गर्दिनँ’, अञ्जुले भनिन्, ‘समयमा खानु र सुत्नु नै सबैभन्दा ठूलो स्वाथ्य हो ।’ 

अञ्जुलाई अहिलेसम्म कति गीतमा स्वर दिए भन्नै समेत यकिन छैन । उनले भनिन्, ‘दैनिक तीनदेखि ६ वटासम्म गाउँदै आएकी छु । अहिलेसम्म त्यस्तै ६ हजार पुग्यो होला ।’ पछिल्लो समय नेपाली चलचित्र र सुगमसंगीतमा उनकै गीतले चर्चा पाउने गरेको छ ।

फेसन डिजाइनर कुसुम श्रेष्ठ बागबजारस्थित इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’को पहिलो ब्याचकी विद्यार्थी हुन् । आईआईएफटीबाट फेसन डिजाइनरमा डिप्लोमा सकेपछि उनले ‘कुसुम बुटिक’ सञ्चालनमा ल्याएकी हुन् । आफ्नो बुटिकमा ग्राहकको रुचिअनुसार फहिरन तयार गर्ने उनले बताइन् ।

पार्टी वेयर, इभिङ वेयर, गाउन, वानपिस, लेहेँगा, कुर्ता सलवारलगायत क्याजुअल वेयर पनि अर्डरअनुसार तयार गर्ने कुसुमले बताइन् ।  

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया