नेकपाको एकीकरण देशको शान्ति र समृद्धिको सपना साकार पार्नलाई भएको हाे : प्रम ओली

 फागुन २५, २०७५ शनिबार १७:४२:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

रौतहट - नेकपाका प्रमुख तीन नेताले एकै मञ्चबाट तराई मधेसको विकासको लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेकपाको सरकार गम्भीर रहेको घोषणा गरेका छन् ।

रौतहटको गरुडामा नेकपाको प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री एवं अर्का अध्यक्ष पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री एवं वरिष्ठ नेता माधव कुमार नेपालले तराई मधेसको विकास र समृद्धिको लागि सरकार योजना बनाएर गम्भीरतापूर्वक अगाडि बढेको स्पष्ट पार्नुभएकाे हाे ।

प्रधानमन्त्री ओलीले पृथकवादी राजनीतिको भविष्य नभइ देशको समृद्धि नै एकमात्र बाटो देखेर सिके राउत नेतृत्वको समूहले देशको अखण्डता र अविभाज्यतालाई स्वीकार गर्दै संविधानप्रति ऐक्यवद्धता जनाएको बताउनुभयाे ।

प्रधानमन्त्री ओलीले नेकपाको एकीकरण पार्टी मोटाएर जीउ सुन्निएको देखाउनलाई मात्र नभएर देशको शान्ति र समृद्धिको सपना साकार पार्नलाई भएको बताउनुभयाे । साथै उहाँले तराई मधेसको समृद्धिको लागि २५३ करोड रुपैयाँको विशेष अभियान चलिरहेको बताउँदै रौतहटमा आफू ४६ वर्ष अगाडि भूमिगत बसेको स्मरण गर्नुभयाे ।

प्रधानमन्त्री ओलीले प्रदेश २ मा चलिरहेको विभिन्न ठूला योजनाको चर्चा गर्दै थप योजना पनि सञ्चालन गर्ने घोषणा गर्नुभयाे । उहाँले ७० हजारभन्दा बढीकाे उपस्थित गरुडाको कार्यक्रममा प्रम ओलीले रौतहटको विभिन्न गाउँलाई सम्झेको पनि बताउनुभयाे ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले चार वर्षभित्र प्रदेश २ मा ठूलो परिवर्तन हुने बताउँदै आगामी निर्वाचनमा नेकपाको दुई तिहाई बहुमत आउने बताएका छन् । पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले विभेद, असमानता र अन्यायका साथै  नेकपाको आन्दोलनमा रौतहटको साथै तराई मधेसको भूमिका प्रशंसनीय रहेको बताउनुभयाे।

देशमा वामपन्थी आन्दोलन स्थापित गर्न तराई मधेसको भूमिका सबैभन्दा ठूलो भएको वरिष्ठ नेता नेपालले बताएका छन् । प्रदेशको आवश्यकता र जनताको चाहनालाई देशका तीनवटै नेताले राम्ररी बुझेकाले प्रदेशलाई विशेष प्राथमिकतामा राख्नुपर्ने कार्यक्रमको अध्यक्षता गरेका नेकपाको प्रदेश अध्यक्ष प्रभु साहले बताउनुभयाे ।

नेकपाको एकीकरण र सरकारको गठन भएपछि नेकपाको प्रदेश समितिद्वारा पहिलोपटक आम सभाको आयोजना गरिएको थियो ।
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया