नेपाल भ्रमण वर्ष–२०२०, युरोप उद्घाटन

 फागुन २६, २०७५ आइतबार ६:२५:४० | रासस
unn.prixa.net

काठमाण्डाै – नेपाल भ्रमण वर्ष–२०२०, युरोपको बर्लिन जर्मनीमा शुभारम्भ गरिएको छ । बर्लिनको लोगेन हाउसमा एक समारोहकाबीच जर्मनीका लागि नेपाली राजदूत रमेशप्रसाद खनाल र नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले संयुक्त रुपमा भ्रमण वर्ष युरोपको उद्घाटन गर्नुभयो । 

याे अवसरमा जर्मनीका उच्च अधिकारी, टुर तथा ट्राभल व्यवसायी, कूटनैतिक समूदाय तथा जर्मनीस्थित नेपालीलगायत ३०० भन्दा बढीको उपस्थिति रहेको बोर्डद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । कार्यक्रममा श्रीलङ्काका पर्यटनमन्त्री जोहन अमरातुङगा, जमैकाका पर्यटनमन्त्री एडमुण्ड बार्टलेट तथा संयुक्त राष्ट्रसङ्घ विश्व पर्यटन सङ्गठनका पूर्वमहासचिव डा टेलिब रिफाइको उपस्थिति थियो । 

यही अवसरमा गएकाे फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा दिवङ्गत हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा समवेदना व्यक्त गरिएको थियो । हिमालयन ट्रेल नामक पुस्तकका जर्मन लेखक पिटर हिन्ज तथा २५ वर्षसम्मा निरन्तर पर्यटन मेला आइटीबीमा पर्यटन बोर्डलाई सहयोग गर्दै आउनुभएका जमर्नीस्थित अवैतनिक पर्यटन प्रतिनिधि दिल गुरुङलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो । 

राजदूत खनालले नेपाल भ्रमण वर्षको उद्देश्य अनुरुप सफलता हासिल गर्न सम्बन्धित सबैको सहयोगको आह्वान गर्दै त्यसका लागि राजदूतावासमा एक उच्चस्तरीय समिति गठन गरी जर्मनीलगायत युरोपका अन्य देशमा समेत नेपाली पर्यठन प्रवद्र्धनात्मक कार्यक्रम गरिने बताउनुभयो । 

बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक नेपालमा स्वागत गर्न आवश्यक पूर्वाधारको विकास द्रुत गतिमा भइरहेको उल्लेख गर्दै अभियानलाई सार्थक बनाउन सबैको साथ सहयोग चाहिने खाँचो औँल्याउनुभयो । 

जमैकाका पर्यटनमन्त्रीले नेपाल जीवनमा कम्तिमा एक पटक भ्रमण गर्नै पर्ने मुलुक रहेको तथा नेपाल र नेपाली जनतामा रहेको दृढ इच्छाशक्तिको प्रशंसा गर्नुभयो । गैरआवासीय नेपाली सङ्गठन जर्मनीका तर्फबाट हरि न्यौपानेले भ्रमण वर्षलाई सफल तुल्याउन समन्वयात्मक ढङ्गले पर्यटन प्रवर्द्धन गरिने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया