सरकारसँग भएको सहमतिलाई सीके राउतले जनमतसंग्रह भनेर प्रचार गरे सहमतिविरुद्ध हुन्छ: गृहमन्त्री थापा

 फागुन २६, २०७५ आइतबार १४:४६:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - गृहमन्त्री रामबहादुर थापा बादलले सरकारले स्वतन्त्र मधेस गठबन्धनसँग जनमतसंग्रहका लागि कहिल्यै पनि सहमति नगरेको बताउनुभएको छ ।

प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले कसैले जनमत संग्रहका लागि सरकारले सहमति गरेको भन्ने प्रचार गर्नु गलत हुने बताउनुभयो ।  

सीके राउत आफैले पनि उनको आधिकारीक ट्विटर ह्याण्डलमा जनमत संग्रहका लागि सरकार तयार भएकाले सहमति गरिएको भन्ने कुरा उल्लेख गरेकाले सहमतिमाथि संशय उब्जिएको भन्दै सांसदहरुले प्रश्न उठाएका थिए । 

सीके राउतले सरकारसँग भएको सहमतिलाई जनमत संग्रह नै भनेर उल्लेख गरेको भए सहमतिको विरुद्ध हुने भन्दै फेरि पुरानै परिस्थिति उत्पन्न हुने गृहमन्त्री थापाले बताउनुभयो ।  

अब सरकारसँग भएको सहमति अनुरुप सीके राउत संयोजक रहेको स्वतन्त्र मधेस गठबन्धनको नाम पनि परिवर्तन हुनुपर्ने उहाँले स्पष्ट पार्नुभयो । 

‘अब उनीहरुले आफ्नो समूहको नाम परिवर्तन गर्न सक्छन् । कानूनी रुपले त्यो नाम राखिरहन मिल्दैन । पछि परिवर्तन गर्नेछन् । सरकारसँग गरेको सहमतिले यसमा स्पष्ट व्यवस्था गरेको छ,’ गृहमन्त्री थापाले भन्नुभयो ।  
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया