वडाध्यक्ष र सचिवको मिलेमतोमा बहुविवाहलाई वैधानिकता, उल्टै पत्रकारविरुद्ध उजुरी

 फागुन २७, २०७५ सोमबार १८:२३:५० | राधाकृष्ण डुम्रे
unn.prixa.net

चापाकाेट नगरपालिकाकाे कार्यालय

स्याङ्जा – चापाकोट नगरपालिका वडा नम्बर ९ का अध्यक्ष र सचिवले आफूहरुको मानहानी हुने गरी समाचार प्रकाशित गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा पत्रकारविरुद्ध उजुरी दर्ता गरेका छन् । 

वडाध्यक्ष शंकरभक्त भण्डारी र वडा सचिव दशरथ भट्टराईले स्थानीय केशव पंगेनीको श्रीमती रहेको जानकारी हुँदाहुँदै दोस्रो श्रीमतीसँग विवाह दर्ता गराइदिएको खबर सञ्चारकर्मीले प्रकाशन गरेपछि पत्रकारविरुद्ध मुद्धा दर्ता गरेका हुन् । 

वडाध्यक्ष र सचिवको मिलेमतोमा स्थानीय केशव पंगेनी र पुतलीबजार नगरपालिका १३ की प्रतिमा रेग्मीको विवाह दर्ता गराइएको थियो ।  

मुलुकी अपराध संहिताको दफा १७५ मा बहुविवाह गर्न नहुने र त्यसरी विवाह गर्ने महिला पुरुष दुवैलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र दश हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिबाना हुने उल्लेख छ । साथै त्यसरी गरिएको विवाह स्वतः बदर हुने पनि कानुनी व्यवस्था छ । तर वडाध्यक्ष र सचिव दुवैले दोस्रो विवाह दर्ता गरिदिएपछि जेठी श्रीमती खेमकुमारी पंगेनीले  उजुरी दिनुभएको छ ।  

सत्यतथ्य समाचार प्रकाशित गर्दा उल्टै पत्रकारहरुलाई मानसिक तनाव दिन खोज्ने वडा अध्यक्ष र सचिव दुवैलाई कारबाही गर्न प्रेस युनियन स्याङ्जाले माग गरेको छ ।  

प्रेस युनियन स्याङजाले कानुनविपरीत वहुविवाह गर्ने र त्यसको दर्ता गर्ने स्थानीय पञ्जिकाधिकारी तथा वडा सचिव दशरथ भट्टराई, वडा अध्यक्ष शंकरभक्त भण्डारी र सचिव भट्टराईकी श्रीमती नेकपा नगर संयोजक सरस्वती भट्टराईमाथि छानबिन गरी कारबाही गर्न माग गरेको छ ।  

अन्तिम अपडेट: बैशाख २, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया