दिल्लीकी सांसद अल्का लाम्बाले माफी माग्दै हटाइन् नेपालबारे लेखेको विवादित ट्वीट !

 फागुन २८, २०७५ मंगलबार १५:१४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

दिल्लीकी सांसद अल्का लाम्बाले नेपाल र नेपालीबारे दिएको विवादित अभिव्यक्तिका लागि माफी मागेकी छिन् । 

अल्काले हटाएकाे ट्वीट यस्ताे छ

मंगलबार बिहान गरेको ट्वीटको निकै नै विवाद र आलोचना भएपछि लाम्बाले हटाएकी हुन् । उनले माफी माग्दै लेखेकी छिन्, ‘मेरो एउटा ट्वीटबाट नेपालीहरुलाई दुःख लागेको थाहा भएको छ । म यसका लागि छिमेकी देश नेपालका नागरिकसँग माफी चाहन्छु । मेरो उद्धेश्य कसैको मन दुखाउनु थिएन । मैले तपाईँहरुको भावनाको कदर गर्दै ट्वीट हटाएकी छु । गड ब्लेस इन्डिया–नेपाल फ्रेन्डसिप ।’

आम आदमी पार्टीकी नेतृ तथा दिल्ली विधानसभा सदस्य अल्का लाम्बाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति कटाक्ष गर्दा नेपाल र नेपाली नागरिकप्रति आपत्तिजनक अभिव्यक्ति दिएकी थिइन् । उनले ट्विटरमा मोदीलाई कटाक्ष गर्दै लेखेकी थिइन्, ‘प्रिय, भारतवासी, यो पटक प्रधानमन्त्री नै चुन्नुहोला । चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ । नेपालका चौकीदार चोर हुँदैनन् ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न सभामा आफू भारतको चौकीदार भएको बताउँदै आफूले चोरी नगर्ने अभिव्यक्ति दिएका थिए ।

मोदीको यो अभिव्यक्तिलाई भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले मोदीप्रति लक्षित गर्दै ‘देशको चौकीदार चोर’ भएको अभिव्यक्ति दिएका थिए । त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निरव मोदीलगायतका व्यापारीलाई भारतबाहिर भगाउन सहयोग गरेको भन्दै आलोचना गर्दै आएका छन् ।

दिल्लीकी सांसद अल्का लाम्बाले दिइन् नेपाल र नेपालीप्रति विवादित अभिव्यक्ति !

अल्का लाम्बा लामो समय भारतीय कांग्रेसको विभिन्न पदमा रहेर राजनीतिमा सक्रिय रहेकी थिइन् । उनी सन् २०१४ मा कांग्रेस परित्याग गरी आम आदमी पार्टीमा आवद्ध भएकी थिइन् । सन् २०१५ मा भएको दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टीका तर्फबाट चाँदनी चोक सिटबाट निर्वाचित भएकी थिइन् ।

अन्तिम अपडेट: चैत १२, २०८०

1 Comments

  • @ido

    March 12, 2019, 3:51 p.m.

    हामी नेपाली चौकिदार मतलब गोर्खा रेजिमेन्ट भारत मा चाहे बेलायत मा एक हिसाबले चौकिदार नै हो ! तर यो बिसयमा बोल्या हुन् केहि दिन अघि भारतीय प्रम ले मै तो चौकिदार हु भन्दै भासण गर्या थे । यहि विषय लाई लिएर उनले आफ्नो प्रम भन्दा सौ गुणा ईमानदार बहादुर नेपालको चौकिदार हुन्छन् । नझुक्किनु होला भारत जनता भन्दौ सचेत गराया हुन् उनि !!

  •  0 Reply

तपाईको प्रतिक्रिया