उपचारका क्रममा बुबाको मृत्यु,  चिकित्सकको फोटो खिच्न गएका दुई छोरा कुटिए

 फागुन २८, २०७५ मंगलबार १९:११:८ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – जनकपुर अञ्चल अस्पतालमा उपचारका क्रममा बुबाको मृत्यु भएपछि चिकित्सको फोटो खिच्न गएका दुई छोरा कुटिएका छन् । 

धनुषाको मिथिला नगरपालिका ६ का ५७ वर्षका रामनारायण खत्वेलाई हृदयघात भएपछि मंगलबार बिहान जनकपुर अञ्चल अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । खत्वेको बिहान ११ बजे उपचारको क्रममा मृत्यु भएपछि चिकित्सकको फोटो खिच्न गएका उनका दुई छोरामाथि कुटपिट भएको हो ।  

चिकित्सकले समयमा उपचार नगर्दा बुबाको मृत्यु भएको भन्दै फोटो खिच्न गएका खत्वेका जेठा छोरा ३१ वर्षका रमेश मण्डल र २३ वर्षका राजाराम मण्डल कुटिएका हुन् ।  

रमेशले उपचारमा त्यहाँका चिकित्सकले ध्यान नदिँदा बुबाको ज्यान गएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी दुवै भाइ उपचार नगरेर बसेका डाक्टरको फोटो खिच्न जाँदा उनीहरुले मोबाइल खोसे । र सबै डाक्टर मिलेर कुटपिट गर्न थाले । पछि कोठामा लगेर समेत कुटे । त्यहाँ ड्यूटीमा रहेका एक प्रहरीले बचाउनुको साटो उनले पनि कुटपिट गरे ।’

कुटपिटको घटनापछि मंगलबार दिनभर अस्पताल तनावग्रस्त रहेको थियो । पीडित परिवार र आफन्तले खत्वेको शव आकास्मिक कक्षको गेटमा राखेर झण्डै ५ घण्टा प्रदर्शन गरेका थिए । उनीहरुले कुटपिट गर्ने दोषी चिकित्सकहरुमाथि कारबाही र क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गरेका थिए ।

पीडित परिवार र आफन्तको प्रदर्शनपछि दुवै पक्षबाट घटनाको छानबिन गर्न मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र यादवको संयोजकत्वमा १० सदस्य छानबिन समिति गठन भएको छ । 

‘दुवै पक्षबाट ५–५ जना गरी १० सदस्य छानबिन समिति गठन भएको छ’, उहाँले भन्नुभयो, ‘घटना के भएको हो भन्ने विषयमा सीसीटीभी फुटेज हेर्ने र प्रत्यक्षदर्शीहरुसँग बुझी कारबाही गरिने छ ।’

 छानबिन टोली गठनपछि परिवारजनले खत्वेको शव उठाएका छन् । 


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया