मानिस र वन्यजुन्तुबीचको द्वन्द्व कम गर्न सरकार प्रतिबद्ध छ : वनमन्त्री बस्नेत

 फागुन २९, २०७५ बुधबार १४:४१:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सरकारले मानव–वन्यजुन्तु द्वन्द्व न्यूनिकरणका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाएको छ । 

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनिकरणका लागि सरकारले चालू आर्थिक वर्षका लागि झापामा हात्ती करिडोर निर्माणका लागि ६ करोड बजेट विनियोजन गरेको पनि स्मरण गराउनुभयो । 

बुधबार संघीय संसदको प्रतिनिधिसभा बैठकमा  सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उहाँले झापाको विभिन्न स्थानमा हुने जंगली हात्तीको अतिक्रमणलाई रोक्न हाल सरकारले जलथलमा हात्ती करिडोर निर्माण कार्य सुरु गरेको पनि स्पष्ट पार्नुभयो । 

त्यसैगरी जंगली हात्तीको प्रभाव क्षेत्रमा विद्युतीय तारबारसहितको व्यवस्थापनको काम पनि सुरु गरिएको मन्त्री बस्नेतको भनाइ छ । बैठकमा सांसद पवित्रा निरौला खरेलले झापामा जंगली हात्ती न्यूनिकरणका लागि आवश्यक बजेट र कार्यक्रमबारे जानकारी दिन मन्त्री बस्नेतसँग जिज्ञासा राख्नु भएको थियो । त्यसको जवाफ दिने क्रममा मन्त्री बस्नेतले समस्या समाधानका लागि सरकारले युथ क्लब निर्माण गरेको, जनचेतनामूलक कार्यक्रमलाई अघि बढाएको पनि बताउनुभयो ।

मन्त्री बस्नेतले बर्दिया जिल्लामा हुने गरेका हात्ती आतंक न्यूनिकरणका लागि सरकारले हरेक वर्ष आवश्यक बजेट व्यवस्था गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । सांसद संजयकुमार गौतमले बर्दियामा भारतीय जंगलबाट आउने हात्तीले दुःख दिने गरेको भन्दै त्यसको समाधानका लागि के योजना छ ? भनी मन्त्री बस्नेतलाई प्रश्न गर्नु भएको थियो । मन्त्री बस्नेतले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल वरपरको जंगलको जैविक मार्गको संरक्षण गर्न सरकार सचेत रहेको पनि स्पष्ट पार्नुभयो । बैठकमा सांसद सरदसिंह भण्डारीले विमानस्थल वरपरको जंगलमा निर्माण गरिएको जैविक मार्ग संरक्षण गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको थियो । 

त्यसैगरी सांसद राजेन्द्रप्रसाद लिङदेन, देवेन्द्रराज कँडेलले वन क्षेत्रको अतिक्रमणका कारण वन्यजन्तु र मानवबीच द्वन्द्व हुन गएको उल्लेख गर्दै त्यसको समाधानका लागि सरकारको भावी योजना र बजेटबारे पनि मन्त्री बस्नेतसँग जिज्ञासा राख्नु भएको थियो ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया