राउटेहरुले पहिलो पटक बैंकमा पुगेर तलब बुझे

 फागुन २९, २०७५ बुधबार १६:४६:४३ | मुना हमाल
unn.prixa.net

सुर्खेत – राउटे समुदायले पहिलो पटक बैंकमा गएर तलब बुझेका छन् । जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका लागि सहयोगी कार्यकर्ताका रुपमा नियुक्त भएका राउटेहरुले आज वीरेन्द्रनगरमा आएर पहिलो महिनाको तलब बुझेका हुन ।

सामाजिक सेवा केन्द्र (सोसेक) ले उनीहरुलाई उपलब्ध गराएको मासिक तलब वीरेन्द्रनगरमा रहेको मेगा बैंकमार्फत बुझेका छन् ।  

राउटे मुखिया र अगुवालाई सहयोगी सामाजिक कार्यकर्ताको रुपमा जागिर दिइएको छ ।  सूर्यनारायण शाही, वीरबहादुर शाही, दिलबहादुर शाही, प्रकाश शाही र महिनबहादुर शाहीले पहिलो महिनाको तलब बुझेका छन् । सूर्यनारायण शाहीलाई दुई हजार अन्यलाई एक हजार पाँच सयका दरले तलब उपलब्ध गराइएको सोसेकले जनाएको छ । 

पहिलो पटक बैंकमा आएर पैसा बुझ्दा खुशी लागेको राउटे मुखिया दिलबहादुर शाहीले बताउनुभयो । 

उनीहरुलाई आफ्नो समुदायमा काम गर्नका लागि विभिन्न मापदण्ड तोकिएको छ ।  राउटे समुदायमा कुपोषण भएका बालकालिकालाई पोषणयुक्त खानेकुरा खानमा सहयोग गर्ने, बालबालिकालाई औषधि खुवाउनमा सहयोग पुर्‍याउने, समुदायको सरसफाइमा ध्यान दिने, वनजंगलको संंरक्षण गर्ने कामका लागि मासिक रुपमा तलब दिने भनेर नियुक्ति दिइएको  सोसेकका अध्यक्ष हिरासिंह थापाले जानकारी दिनुभयो । राउटे समुदायलाई समाजीकरण गर्नका लागि जागिर दिइएको बताउनुभयो । 

अहिले राउटे समुदायहरु  सुर्खेतको लेकवेशी नगरपालिकाको भेरी किनारामा बसिरहेका छन् ।

 


 

अन्तिम अपडेट: बैशाख ७, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया