अष्ट्रेलियाले ३–२ ले जित्यो एकदिवसीय शृङ्खला, निर्णायक खेलमा ३५ रनले हार्‍यो भारत

 फागुन २९, २०७५ बुधबार २२:११:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

अष्ट्रेलियाले पाँचौ तथा अन्तिम एकदिवसीय क्रिकेटमा भारतलाई ३५ रनले हराउँदै शृङ्खला ३–२ ले आफ्नो पक्षमा पारेको छ । 

दिल्लीको फिरोज शाह कोटला रंगशालामा भएको अन्तिम तथा निर्णायक खेलमा अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै भारतलाई २७३ रनको विजयी लक्ष्य दिएको थियो । तर भारतीय टिम २३७ रनमै अलआउट भयो । 

अष्ट्रेलियाको जितमा ब्याट्सम्यान उस्मान ख्वाजा, पिटर ह्याण्ड्सकम्ब तथा स्पिनर एडम जम्पाको शानदार प्रदर्शन रह्यो । 

ख्वाजाको शतकीय तथा ह्याण्ड्सकम्बको अर्धशतकीय पारी रह्यो । त्यस्तै जम्पाले लिएको महत्वपूर्ण तीन विकेट पनि अष्ट्रेलियाको जितका लागि उल्लेखनीय रह्यो । 

चौथो एकदिवसीय खेलमा वान डे करियरमै उत्कृष्ट पारी खेलेका भारतीय ब्याट्सम्यान शिखर धवनले आज केवल १२ रन मात्रै बनाए । २५ ओभरमा १२० रन बनाएको अवस्थामा भारतले कप्तान विराट कोहली(२०), विकेटकीपर रिषभ पन्त(१६), विजय शंकर(१६) को विकेट गुमाइसकेको थियो । रोहित शर्मा भने लामो समय टिक्दै अर्धशतक बनाए । 

सम्हालिएर खेलेका रोहितले एकदिवसीय खेलमा ८ हजार रन पनि पूरा गरे । अर्धशतक बनाउन नै उनले ७३ बलको सामना गरेका थिए । रोहित ८९ बलमा ५६ रन बनाएर आउट भए । 

त्यसपछि ब्याटिङमा आएका रवीन्द्र जडेजाले खाता नै खोल्न सकेनन् । उनलाई जम्पाले आउट गरे । 

१३२ रनमा ६ विकेट गुमाइसकेको भारतीय टिमका लागि जितको सम्भावना लगभग समाप्त भैसकेको थियो । त्यसपछि केदार जाधव र भुवनेश्वर कुमार पिचमा जमे । उनीहरुले उत्कृष्ट पारी खेले । त्यसपछि यी दुई १३ ओभरसम्म जमे । उनीहरुले ९१ रनको साझेदारी गरे । ४६औँ ओभरको अन्तिम बलमा भुवनेश्वर कुमार(४६) मा र अर्को ओभरमा केदार जाधव(४४) मा आउट भएपछि भारतका लागि जितको आशा सकिएको थियो । 

अष्ट्रेलियाको बलियो सुरुवात

अष्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाउँदै २७२ रन बनाएको थियो । सुरुवाति ३० ओभरमा अष्ट्रेलियाले मात्र एक विकेट गुमाउँदै १६१ रन बनाएको थियो । त्यसपछि भारतीय बलरहरुले अष्ट्रेलियाको ब्याटिङको गति रोकेका थिए ।

अष्ट्रेलियाका ओपनिङ ब्याट्सम्यान एरोन फिन्च र उस्मान ख्वाजाले बलियो सुरुवात गरेका थिए । उनीहरुले पहिलो विकेटका लागि १४.३ ओभरमा ७६ रनको साझेदारी गरेका थिए । 

तीव्र गतिका बलरले विकेट लिन नसकेको अवस्थामा कोहलीले स्पिनर प्रयो गरे । रवीन्द्र जडेजाले एरोन फिन्चलाई पहिलो विकेटका रुपमा आउट गरे । फिन्चले ४३ बलमा २७ रन बनाए । 

त्यसपछि ख्वाजा र ह्यान्ड्सकम्ब सम्हालिएर खेले र शानदार साझेदारी गरे । 

ख्वाजाले ३२ औँ ओभरमा आफ्नो करियर तथा यो सिरिजमा दोस्रो एकदिवसीय शतक प्रहार गरे । ह्याण्ड्सकम्बले पनि ६२ बलमा ५२ रन बनाए । 

भारतका लागि भुवनेश्वर कुमारले तीन विकेट लिए ।  त्यस्तै मोहम्मद शमी र रवीन्द्र जडेजाले २–२ तथा कुलदीप यादव र जसप्रीत बुमराहले एक–एक विकेट लिए ।

सन् २००९ पछि भारतमा पहिलो पटक अष्ट्रेलियाले एकदिवसीय शृङ्खला जितेको हो । यो जितसँगै विश्वकपभन्दा अगाडि अष्ट्रेलियाली क्रिकेट टिमले आफूलो बलियो सावित गरेको छ । पाँच एकदिवसीय शृङ्खलाको इतिहासमा कुनै पनि टिमले केवल चार पटक मात्रै २–० ले पछि परेको अवस्थामा सिरिज आफ्नो पक्षमा पारेको छ । पाँच एकदिवसीय क्रिकेटमा २-० ले पछि पारेकाे अवस्थामा शृङ्खला आफ्नाे पक्षमा पार्ने अष्ट्रेलिया पाँचाै टिम बनेकाे छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया