विप्लवको विज्ञप्ति : चन्दा उठाउनु हाम्रो नैसर्गिक अधिकार हो

 फागुन ३०, २०७५ बिहिबार ९:४६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आफूहरु नागरिक र राष्ट्रको भविष्यका लागि लडिरहेकाले चन्दा उठाउनु नैसर्गिक अधिकार भएको दाबी गरेको छ । 

आफूहरुको पार्टीलाई राजनीतिक पार्टीको रुपमा मान्यता नदिएर अपराधी समूह जस्तो व्यवहार गर्ने सरकारी निर्णय हास्यास्पद रहेको भन्दै यस्ता निर्णयले आफूहरु नझुक्ने पनि उसको भनाई छ । 

गएको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहले आपराधिक गतिविधि गरेको भन्दै प्रतिबन्ध लगाएपछि उसले वक्तव्यमार्फत जवाफ फर्काएको हो ।

प्रतिबन्ध आफ्नो पार्टीलाई नभई राष्ट्र बेचेर खाने, विदेशीको दलाली गर्ने, भ्रष्ट, कमिसनखोर र तस्करहरुसँग मिलेर नागरिकका विरुद्ध अपराध गर्ने राज्यका मन्त्री र उनीहरुका मतियारलाई आफूहरुले प्रतिबन्ध लगाउने पनि विज्ञप्तिमार्फत उसले चेतावनी दिएको छ । 

विज्ञप्तिमा, ‘जहाँसम्म हाम्रो पार्टीलाई प्रतिबन्ध लगाउने प्रचार छ, प्रतिबनध हामीलाई होइन, राष्ट्र बेचेर खाने, विदेशीको दलाली गर्ने, भ्रष्ट, कमिसनखोर, तस्करहरुसँग मिलेर जनताका विरुद्ध जघन्य अपराध गर्ने अपराधी, भ्रष्ट, राज्यका मन्त्री र उनीहरुका मतियारहरुलाई लगाइनेछ’ भन्ने उल्लेख छ ।

पार्टीका महासचिव ‘विप्लव’ले हस्ताक्षर गरेको विज्ञप्तिमा आफूहरुले अहिलेसम्म विदेशी केन्द्रबाट पैसा नलिएको र दलाली गरेर कमिशन पनि नखाएको भन्दै चन्दा उठाउनु नैसर्गिक अधिकार भएको उल्लेख छ । 


 

अन्तिम अपडेट: बैशाख ११, २०८१

1 Comments

  • Abhishekh Karala

    March 15, 2019, 1:01 p.m.

    हजुरको साथमा जनता छ, जनताको आन्दोलन शुरु हुन बेर छैन / दुनियाँ कहाँ पुगिसक्यो ? हाम्रो देशमा विकाश कहिले हुन्छ ? सबै लुट्न मात्र जन्मेका .......भ्रष्टाचारीलाई कारवाही गर्नुस, हामी साथ छौं /

  •  0 Reply

तपाईको प्रतिक्रिया