८३ वर्षीय नन्दबहादुर आँखा देख्ने भएपछि दंग

 चैत १, २०७५ शुक्रबार ११:९:५ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – संखुवासभाका मकालु गाउँपालिका–३ सिम्माका ८३ वर्षीय नन्दबहादुर गुरुङ मोतीयाबिन्दुको अप्रेसनपछि आँखा देख्ने भएर घर फर्किनु भएको छ ।

घरमा बस्दा टाढाको मानिस राम्ररी चिन्न नसक्ने नन्दबहादुर अहिले टाढैबाट आफन्त चिन्न थालेको बताउनु हुन्छ । ‘पहिले–पहिले आफन्तहरुले टाढाबाट बोलाउँदा बोली चिनेको भरमा बोल्थें, अहिले सबैको अनुहार प्रष्ट देख्छु’ नन्दबहादुरले भन्नुभयो—‘मानिसको सबैभन्दा ठूलो आँखा नै रहेछ । भगवान नै रहेछन् डाक्टर साबहरु त ?’

आफूले प्रष्ट आँखा देख्ने भएको भन्दै उहाँले सबैलाई धन्यवाद समेत दिनुभयो । स्थानीय सममाजसेवी समेत रहेका नन्दबहादुर गुरुङले केही वर्षअघि सिम्मामा रहेको स्वास्थ्य चौकीलाई साढे दुई रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनु भएको थियो । त्यही स्वास्थ्य चौकीमा नै आँखा सम्बन्धी जाँच र शल्यक्रियाको दुई दिने शिविर आयोजना गरिएको हो । शिविरको उद्घाटन गर्दै नन्दबहादुरले मानिसको सबैभन्दा ठूलो धन स्वास्थ्य भएको भन्दै स्वास्थ्यमा कसैले हेलचेक्राईं नगर्न समेत अनुरोध गर्नुभयो ।     

संखुवासभा पाथीभरा काठमाडौ समाजको व्यवस्थापन र तिलगंगा आँखा अस्पताल प्रतिष्ठान काठमाण्डौको प्राविधिक खर्चमा दुई दिने शिविर भएको हो । शिविरमा तीन सय ८० जनाको आँखा जाँच र ५० जनाको मोतियबिन्दुको शल्यक्रिया गरिएको संखुवासभा पाथीभरा काठमाडौ समाजका सचिव तथा कार्यक्रम संयोजक प्रभुराम गुरुङले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया