काम खोज्दै विदेश जाने नेपाली ३९ प्रतिशतले घटे, रेमिट्यान्स बढेर ५ खर्ब १५ अर्ब, व्यापार घाटा झण्डै ९ खर्ब

 चैत १, २०७५ शुक्रबार १९:४५:३० | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ – आर्थिक वर्ष २०७५/७६ को सात महिनामा नेपाल भित्रने रेमिट्यान्स बढेको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको सात महिनाको समीक्षा प्रतिवेदमा चालु आर्थिक वर्षको पहिलो सात महिनामा विदेशबाट ५ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । यो रकम अघिल्लो आर्थिक वर्षको सात महिनाको तुलनामा २८ दशमलब ५ प्रतिशतले धेरै भएको नेपाल राष्ट्र बैैंकले जनाएको छ ।

यस्तै अमेरिकी डलरमा रेमिट्यान्सको आय १६ प्रतिशतले बढेको छ ।  अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशतले बढेको थियो ।

सात महिनामा  खुद ट्रान्सफर आय २७.३ प्रतिशतले वृद्धि भएर ५ खर्ब ८६ अर्ब ५५ करोड पुगेको छ । अघिल्लो वर्षको सात महिनामा यस्तो आय ३ प्रतिशतले घटेको थियो ।

राष्ट्र बैंकले निकालेको तथ्याङ्कमा विदेश जाने नेपालीको संख्या पनि ओरालो लागेको देखिएको छ । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या सात महिनामा ३९.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सात महिनामा यस्तो संख्या ४.९प्रतिशतले घटेको थियो ।

यस्तै  पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने सात महिनामा ४.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको यसै अवधिमा यस्तो संख्या १.६ प्रतिशतले घटेको थियो ।

व्यापार घाटाको ग्राफ बढ्दो

आर्थिक वर्ष २०७५/७६ को सात महिनामा कुल बस्तु निर्यात ११.५ प्रतिशतले वृद्धि भएर ५३ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सात महिनामा यस्तो निर्यात १२.९ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ २१.१ प्रतिशत र अन्य देशतर्फ १.४ प्रतिशतले निर्यात वृद्धि भएको छ ।  

चीनतर्फको निर्यातमा ३१.१ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पोलिस्टर यार्न, जस्तापाता, दलहन, जडीबुटी, ऊनी गलैँचा जुटका सामान लगायतका बस्तुको निर्यात बढेको छ भने अलैँची, छाला, रोजिन, जुत्ता तथा चप्पल, आयुर्वेदिक औषधिलगायतका वस्तुहरुको निर्यात घटेको छ । 

निर्यात केही बढे पनि व्यापार घाटा चुलिँदो रहेको छ । आर्थिक वर्ष २०७५/७६ को सात महिनामा कुल बस्तु आयात २६ प्रतिशतले बढेर ८ खर्ब ३३ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्षको त्यसै अवधिमा यस्तो आयात १८.९ प्रतिशतले बढेको थियो । 

बस्तु आयात गरिने देशका आधारमा भारतबाट भएको आयात २४.८ प्रतिशत, चीनबाट भएको आयात ३६.६ प्रतिशत र अन्य देशबाट भएको आयात २३.२ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, एम.एस. बिलेट, हवाई जहाज तथा पार्टपुर्जा, तयारी पोशाक, अन्य मेशिनरी तथा पार्टपुर्जालगायतका बस्तुको आयात बढेको छ भने दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, सिमेन्ट, कच्चा भटमासको तेल, स्वास्थ्य उपकरण तथा औजार, सुपारीलगायतका बस्तुहरुको आयात घटेको छ ।

आर्थिक वर्ष २०७५/७६ को सात महिनामा कुल बस्तु व्यापार घाटा २७.१ प्रतिशतले बढेर  ७ खर्ब ८० अर्ब १९ करोड रुपैयाँ  पुगेको छ । सात महिनामा निर्यात–आयात अनुपात ६.४ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको त्यसै अवधिमा यो अनुपात ७.२ प्रतिशत रहेको थियो ।

सरकारी खर्च पोहोरको भन्दा कम

आर्थिक वर्ष २०७५/७६ को सात महिनामा बैंकिङ कारोबारमा आधारित सरकारको वित्त स्थिति ५७ अर्ब ७४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सात महिनामा सरकारी वित्त स्थिति २६ अर्ब ४७ करोडले घाटामा रहेको थियो ।

यस्तै साउनदेखि माघसम्मको सात महिना बैंकिङ कारोबारमा आधारित संघीय सरकारको कुल खर्च ४ खर्ब १५ अर्ब ५१ करोड पुगेको छ ।

अघिल्लो वर्षको सात महिनामा कुल सरकारी खर्च ४ खर्ब  २८ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो । सात महिनमा संघीय सरकारले संकलन गरेको राजस्व (प्रदेश तथा स्थानीय तहमा बाँडफाँड हुने रकम समेत) २२.१ प्रतिशतले वृद्धि भएर ४ खर्ब ६५ अर्ब ७४ करोड पुगेको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया