४६ दिनदेखि लगाइएकाे गण्डकी मेडिकल कलेजको ताला प्रहरीको रोहबरमा खुल्यो

 चैत २, २०७५ शनिबार १८:५५:२८ | सुमन गुरुङ
unn.prixa.net

सुमन गुरुङ – ४६ दिनदेखि बन्द गण्डकी मेडिकल कलेजमा लगाइएको ताला शनिबार खुलाइएको छ । 

कलेज सञ्चालकहरुले ठगी गरेको भन्दै आन्दोलनरत विद्यार्थीका कारण बन्द रहेको कलेजमा ताला लगाइएकोे थियो । ताला प्रशासनको प्रतिनिधिबिना प्रहरीको रोहबरमा खुलाइएको हो । कलेज खुलाउने विषयमा शुक्रबार नै सहमति भए पनि कोही प्रतिनिधि पनि उपस्थित नभएपछि शनिवार प्रशासनकै रोहबरमा खुलाइएको हो । 

प्रहरीको रोहबरमा ताला खोलिएपछि अबको जिम्मा कलेज प्रशासनकै हुने विद्यार्थीको भनाइ छ । जिल्ला प्रशासन कार्यालय कास्कीले पनि कलेजको सम्पत्ति कलेज प्रशासनले नै हेर्नुपर्ने जनाएको छ । 

एमबीबीएस १६ ब्याचमा अध्ययनरत विद्यार्थीको परीक्षा चैत २१ गतेदेखि सुरु हुँदैछ । परीक्षाको फर्म भर्न र परीक्षामा सहभागी हुनको लागि सहज वातावरण मिलोस् भनेर ताला खुलाउन सहमत भएको विद्यार्थी परिवर्तन भाटले बताउनुभयो । 

तर, ताला खुलेपछि पनि कलेज प्रशासनबाट कोही पनि व्यक्तिको प्रतिनिधित्व नभएपछि उनीहरुले फर्म भर्न पाउने वा नपाउने भन्ने विषय भने अनिश्चित छ । 
चैत ८ गतेसम्म फर्म भर्ने र १२ गतेभित्र परीक्षा नियन्त्रण कार्यालयमा पठाउनुपर्ने सूचना त्रिविले निकालेको छ । 

५३ करोड ठगी गरेको आरोपमा विद्यार्थीहरुले जिल्ला प्रहरी कार्यालय र सम्पत्ति शुद्धिकरण विभागमा ११ जना सञ्चालक विरुद्ध उजुरी दिएका छन् । 

कलेजका पूर्व सीईओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्मा पक्राउ परिसकेका छन् । गएको बुधबार उच्च अदालत पोखराले दुई दिनसम्म बहस सुनेर कानुन अनुसारको कारबाही अघि बढाउन जिल्ला प्रशासन कार्यालयलाई आदेश पठाइसकेको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया