देशको परिवर्तनका लागि सबै संस्कृतिले विकसित हुने मौका पाउनुपर्छ: सभामुख महरा

 चैत २, २०७५ शनिबार २०:५६:५७ | हेमराज शर्मा
unn.prixa.net

दाङ – सभामुख कृष्णबहादुर महराले देशको समृद्धिका लागि भाषिक, सांस्कृतिक एकता आवश्यक रहेको बताउनुभएकाे छ । 

मगर भाषा, साहित्य तथा सांस्कृतिक प्रतिष्ठान दाङले शनिबार घोराहीमा आयोजना गरेको मगरात सांस्कृतिक भेषभुषा प्रतियोगिताको उद्घाटन गर्दै उहाँले सबै भाषा, संस्कृतिको एकताबाट मात्रै देश समृद्ध बन्ने बताउनुभयो ।

नेपाल बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक देश भएको बताउँदै सभामुख महराले सबै संस्कृतिले विकसित हुने मौका पाउनुपर्ने बताउनुभयो । देशको परिवर्तनका लागि यहाँका सम्पूर्ण जाति र समुदायको संघर्ष र बलिदानी रहेको उल्लेख गर्दै सभामुख महराले परिवर्तित सन्दर्भमा राज्यले सबै जाति, भाषा र संस्कृतिको संरक्षणका लागि नीति बनाउनुपर्ने बताउनुभयो ।

‘देशको परिवर्तनका लागि सबै जाति, भाषा र सांस्कृतिक समुदायले खेलेको भूमिकाको चर्चा जति गरे पनि कम नै हुन्छ । परिवर्तित अवस्थामा राज्यले सबै भाषा, धर्म, जाति र संस्कतिको संरक्षणका लागि विशेष योजना बनाउनुपर्दछ’, सभामुख महराले भन्नुभयो, ‘राज्यका तीनवटै सरकारले सांस्कृतिक एकता कायम गर्नतर्फ विशेष योजना बनाउनुपर्दछ ।’

प्रतिनिधि सभा कानुन निर्माणको चरण रहेको बताउँदै सभामुख महराले अबको केही समयमै सम्पूर्ण कानुनहरु बनाइसक्ने बताउनुभयो । विभिन्न विषयगत समितिहरु गृहकार्यमा जुटिरहेको बताउँदै सभामुख महराले कानुनको अभावमा सरकार सञ्चालन गर्न समस्या उत्पन्न भयो भन्ने गुनासो सुन्नु नपर्ने बताउनुभयो ।

‘प्रतिनिधि सभाले कानुन निर्माणको क्रमलाई तीब्र बनाउँदै लगेको छ । सरकार सञ्चालनका लागि कानुन भएन भन्ने गुनासा नआउने गरी हामी लागि परेका छौं’, सभामुख महराले भन्नुभयो, ‘तीन वटै सरकार सञ्चालनका लागि आवश्यक कानुन निर्माण भइरहेका छन् । अबको केही समयमै सम्पूर्ण कानुन निर्माण भइसक्छन् ।’

घोराही उपमहानगरपालिकाको सहयोगमा आयोजना भएको भेषभुषा प्रतियोगीताले सम्पूर्ण संस्कृतिलाई जोड्नेमा विश्वास लिएको बताउँदै सभामुख महराले प्रतियोगीताका लागि १ लाखको अक्षयकोषको घोषणा समेत गर्नुभएको थियो । प्रतियोगितामा साविक राप्ती अञ्चलका सम्पूर्ण जिल्लाका युवा-युवतीहरुको सहभागिता रहेको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया