विदेशमा बेखर्ची भएर अलपत्र हुनेले घर फर्किन सरकारबाट यसरी लिन सक्छन् सहयोग

 चैत ४, २०७५ सोमबार १३:२९:१७ | उज्यालो सहकर्मी

काठमाण्डौं – वैदेशिक रोजगारीमा गएका कामदार खर्च नभएर अलपत्र भएमा सरकारले घर फर्किन टिकट खर्च दिने गरेको छ । 

गएको ९० दिनभित्रमा मेडिकल फेल भएर फर्किनु परेमा मेडिकल गर्ने संस्थाले, भनेको काम र तलब नपाएमा, ठगीमा परेमा पठाउने म्यानपावरले सबै खर्च बेहोरेर फर्काउनपर्ने व्यवस्था छ ।

तर ९० दिनपछि समस्यमा पर्नेहरुलाई घर फर्किन टिकटका लागि चाहिने खर्च पनि नभएर अलपत्र पर्नेहरुलाई सरकारले टिकट खर्च दिएर उद्धार गर्न थालेको हो । 
त्यसका लागि समस्यामा परेको व्यक्तिले सम्बन्धित देशमा रहेको नेपाली दूतावासमा निवेदन दिनुपर्छ ।

दूतावासले उसलाई परेको समस्या निक्र्यौल गरेर घर फर्किन खर्च अभाव भएको विवरणसहितको पत्र परराष्ट्र मन्त्रालयमा पठाउनुपर्छ । परराष्ट्र मन्त्रालयले अध्ययन गरेर सिफारिस गरेपछि बोर्डले टिकटका लागि खर्च उपलब्ध गराउने वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड सचिवालयको कल्याण, पुनस्र्थापना तथा सन्चार शाखाका निर्देशक दिनबन्धु सुवेदीले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । 

‘देशको नागरिक कुनै ठाउँमा अलपत्र पर्छ भने उसलाई उद्धार गर्नु सरकारको दायित्व हो’, उहाँले भन्नुभयो, ‘त्यसमा पनि वैदेशिक रोजगारीमा जानेहरुको हकमा उहाँहरुले कल्याणकारी कोषमा जम्मा गरेकै पैसाबाट उद्धार गर्ने हो ।’

उहाँले ९० दिनभित्र समस्या पर्ने कामदारको हकमा भने यसको सबै जिम्मेवारी पठाउने म्यानपावर कम्पनी र मेडिकल फेल हुनेको हकमा मेडिकल गर्ने संस्था नै जिम्मेवार हुने पनि स्पष्ट पार्नुभयो । 

मलेसियामा अलपत्र कामदारलाई टिकट खर्च दिएर फर्काइयो 

सरकारको यही सहयोग लिएर मलेसियामा अलपत्र परेका ८ जना नेपाली घर फर्किएको नेपाली दूतावासले जनाएको छ । 

पछिल्लो १५ दिनमा मलेसिया पुगेर अलपत्र परेका ३५ जना नेपाल फर्किएकोमा ८ जनालाई सरकारले नै टिकट खर्च दिएर फर्काएको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले जानकारी दिनुभयो । 

उहाँले बेखर्ची भएकाहरुलाई सरकारले सहयोग गर्न थालेकाले अब जेल र घर फिर्ती केन्द्रमा भएका नेपालीलाई घर फर्काउन समस्या नहुने पनि बताउनुभयो ‘केही समय लाग्न सक्छ । तर अब टिकट काट्ने पैसा छैन भनेर घर फिर्ती केन्द्रमा बस्नुपर्दैन ।’ पाण्डेले भन्नुभयो ।  
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया