अध्ययनपछि मात्रै लाल आयाेगकाे प्रतिवेदन सार्वजनिक हुन्छ : रक्षामन्त्री पोखरेल

 चैत ४, २०७५ सोमबार १८:४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मधेश आन्दोलनको न्यायिक छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदन अध्ययन गरेर मात्रै सार्वजनिक गर्ने स्पष्ट पार्नुभएको छ ।

लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै राष्ट्रिय जनता पार्टी नेपालले संघीय संसद बैठक मेत अवरुद्ध पार्दै आइरहेका बेला उपप्रधानमन्त्री पोखरेलले अध्ययन गरेर मात्रै याे प्रतिवेदन सार्वजनिक गर्ने प्रष्ट पार्नुभएको हो ।

सोमबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सरकारले गठन गरेका आयोगको प्रतिवेदन राम्ररी अध्ययन गरेर मात्रै सार्वजनिक गर्ने बताउनुभयो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेतासमेत रहनु भएका उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय जनता पार्टी, नेपालले यही माग राखेर अब संघीय संसद बैठक अवरुद्ध नपार्ने दाबी पनि गर्नुभयो ।

मधेस तथा थरुहट आन्दोलनको सम्पूर्ण घटनाबारे छानबिन गर्न तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७३ साल असोज २ गते सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक छानबिन आयोग गठन गरेको थियो ।

आयोगले आफ्नो प्रतिवेदन देउवा नेतृत्वको सरकारलाई २०७४ साल माघ २९ गते बुझाए पनि सरकारले त्यो प्रतिवेदन हालसम्म पनि सार्वजनिक नगरेकोमा राष्ट्रिय जनता पार्टी, नेपालको आपत्ति छ ।

त्यही आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राष्ट्रिय जनता पार्टी, नेपालले सोमबार बसेको प्रतिनिधिसभाको पहिलो बैठक पनि अवरुद्ध पारेको थियो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया