नेपालमा पानी जहाज कहानी : पानीमा ६ करोडको लगानी

 चैत ४, २०७५ सोमबार २०:५९:११ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – सप्तकोशी नदीमा पानी जहाज तथा स्टिमर सञ्चालन गर्ने बारेमा विराटनगरमा छलफल सुरु भएको छ ।  

बराह क्षेत्र मरिन एण्ड रिसोर्ट प्रा.लि.ले विराटनगरमा सोलुखुम्बु, खोटाङ, उदयपुर र ओखलढुङ्गाका स्थानीय तहका जनप्रतिनिधि तथा प्रदेश र संघीय सांसदसँग प्रदेश एकमा पानी  जहाजको सम्भावनाको बारे छलफल थालेको हो ।

बराह क्षेत्र मरिन एण्ड रिसोर्ट प्रा.लि.ले ४ वटा स्मल प्यासेन्जर शिप(पानी जहाज) भित्र्याएर काम सुरु गरेसँगै आएका समस्याको बारेमा छलफल सुरु भएको हो । जति उत्साह थियो त्योभन्दा बढी चुनौती रहेको कम्पनीले जनाएको छ । नदीमा ढुङ्गाका कारण चलाउन समस्या छ । दक्ष चालक हुँदाहुँदै पनि लाइसेन्स नहुँदा चालकलाई निक्कै नै समस्या रहेको सञ्चालकको भनाइ छ ।

राष्ट्रिय महत्वको विषयलाई झण्झट बनाइनु हुँदैन भन्ने हुँदाहुँदै पनि विभिन्न बहानामा राज्यबाट नै दुःख दिने काम भइरहेको सञ्चालक नवीनकुमार पौडेलले बताउनुभयो । ‘बिजुलीको मिटर सिफारिससमेत नदिने गरेको कारण निक्कै अप्ठेरो छ’, उहाँले भन्नुभयो, ‘भोजपुरको सिम्लेसम्म पुगेर फर्कनु पर्ने बाध्यतालाई टार्न मिल्दैन ।’

नदीमा रहेको ढुङ्गाका कारण पानी जहाज चलाउन पनि समस्या रहेको उहाँले बताउनुभयो । यस्तै बराह क्षेत्रभन्दा केही तल ठूला २ छालहरु अझ बढी खतराको रुपमा रहेकोले त्यसलाई ब्लास्ट गर्नुपर्ने बराह क्षेत्र मरिन एण्ड रिसोर्ट प्रा.लि.का सञ्चालक कुमार पौडेलले जानकारी दिनुभयो ।  उहाँले ताप्लेजुङको काबेली नदीसम्म  सानो प्यासेन्जर शिप लैजान सकिने अवस्था रहेको सुनाउँदै त्यसका लागि केही पहल राज्यको तर्फबाट हुनुपर्ने बताउनुभयो । १५ जनासम्म चढाउन मिल्ने स्टिमर काबेलीसम्म चलाउन सकिने पनि उहाँले जानकारी दिनुभयो ।  

अहिले भोजपुरको सिम्लेसम्म मात्रै चल्दै आएको रानीघाट, घुर्मी र नेपालथोकसम्म लैजान  सकिने पौडेलले दाबी गर्नुभयो । यसरी सञ्चालन हुने प्यासेन्जर शिपबाट व्यवसाय मात्र नभई रोजगारीको समेत सिर्जना हुनुका साथै जैविक विविधता संरक्षणका लागि पनि उपयोगी हुने स्पष्ट पानुभयो प्यासेन्जर शिप चलाउन बराह क्षेत्र नगरपालिकाले एक वर्षका लागि करछुट दिने भनेर आह्वान गरेकाले काम थालिएको पौडेलको भनाइ छ ।

यसरी भित्रियो साना पानी जहाज अर्थात स्मल प्यासेन्जर शिप 

चीनको छिन्ताओबाट अध्ययन गरेर अन्तर्राष्ट्रिय मापदण्डअनुसारका ४ वटा पानी जहाज ल्याइएको हो । पानी जहाज झण्डै एक वर्ष अगाडिदेखि सुरु गरिए पनि निक्कै समस्या र झण्झट हुँदै आएको छ  ।  १५ जना देखि ३५ जनासम्म  सहजै बोक्न सक्ने गरी ४ वटा पानी जहाज अहिले कोशीमा चलेका छन् ।  तर अहिले यसरी चलेका जहाजहरु निजी लगानी र पहलबाट भएको हो । तर नदीको ढुङ्गा निकाल्ने बारेमा भने समस्या भएकाले राज्यले सहयोग गरिदिनु पर्ने सञ्चालक बताउँछन्  । 

धेरै मानिसले यसलाई पानी जहाजका रुपमा मान्न तयार नभए पनि साना पानी जहाज नै भएकाे  बराह क्षेत्र मरिन एण्ड रिसोर्ट प्रा.लि. का सञ्चालक नवीनकुमार पाैडेल बताउनुहुन्छ । चिनियाँ कम्पनीले नै यसलाई स्मल प्यासेन्जर शिपका रुपमा तयार पारेकाे उहाँले बताउनुभयाे । 'धेरै नेपालीले पानी जहाज भन्नेबित्तिकै ५-६ तलाका क्रुज हाे भन्ने बुझेका हाेलान्, हामीले चलाएका जल यातायात पनि पानी जहाज नै हाे', पाैडेलले उज्यालाे अनलाइनसँगकाे कुराकानीमा भन्नुभयाे ।

बराह क्षेत्रको दर्शन पानी जहाजबाट सहजै गर्न सकिन्छ ।  हिँडेर बराह मन्दिर पुग्न २ घण्टा चतरा देखि लाग्छ भने आफ्नै सवारी साधनमा जाँदा पनि झण्डै १ घण्टा लाग्ने गरेको छ । तर जहाजमा जाँदा बढीमा ३ देखि ४ मिनेटमा चतराबाट बराह क्षेत्रसम्म मन्दिरको दर्शन गर्न सकिने छ ।  

यसबाट  धेरै पर्यटक भित्र्याउन सकिने छ । झण्डै ६ करोड लगानी गरेर ४ वटा पानी जहाज किनिएको छ भने ३ सय जनासम्म क्षमता भएको पानी जहाज सप्तकोशी नदीमा सहजै चलाउन सकिने पौडेलको दाबी छ । त्यसका लागि  राज्यले थोरै पानी जहाज चल्ने मार्ग बनाइदिनुपर्ने उहाँको माग छ । त्यो हुनेबित्तिकै ३ सय जना क्षमताको जहाज ल्याउन आफूहरु तयार रहेको पौडेलले बताउनुभयो ।

पानी जहाजबारे सांसद र नेताका आ–आफ्नै दाबी

नेकपा प्रदेश १ का प्रमुख सचेतक तथा सोलुखुम्बुका सांसद बुद्धिकुमार राजभण्डारीले  दबाब समूह नै गठन गरेर अघि बढ्नु पर्ने बताउनुभयो । उहाँले अध्ययन समिति बनाउन काम सुरु गर्ने, १५ लाख लागे पनि १५ करोड लागे पनि दबाब समूह नबनाउँदासम्म समस्या नै हुने बताउनुभयो । 

मिर्चैया–घुर्मीसम्मको सडक बनाउन भन्दा समेत अटेर गरेको सरकारले अहिले नै जल मार्गको अध्ययन गर्ला भन्ने आफूलाई नलागेको भन्दै एउटा दबाब समूह बनाएर जाने हो भने काम चाँडै पूरा हुने उहाँले बताउनुभयो ।   ‘सार्वजनिक सरोकारका विषयमा काम गरौँ सम्भव छ’, राजभण्डारीले भन्नुभयो, ‘त्यसका लागि सहजै काम हुनेवाला छैन । दबाब समूह बनाउँ अनि राज्यको ध्यानाकर्षण गराउँ ।’

खोटाङकी सांसद उषाकला राईले पानी जहाजलाई सहज चलाउन सकिन्छ भन्नेमा सबै एकमत हुनु पर्ने बताउनुभयो । उहाँले सरकार र निजी क्षेत्रबीच एक भएर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो  ।  सांसद राईले देश बनाउने कुरामा सबै लाग्नु पर्ने तर्क गर्नुभयो ।

नेकपाका नेता गुरु बरालले स्थल यातायातभन्दा जल यातायात २७ गुणा सस्तो हुने बताउनुभयो । २०५५ सालमा कोशीको ढुङ्गा पन्छाउनका लागि ५० लाख छुट्याइएको थियो तर अहिले ५–७ करोड छुट्याउन समस्या छैन । ‘नदी भित्रको गुण्डागर्दी रोकिनु पर्छ, उहाँले भन्नुभयो, ‘राज्यले ५ वर्षसम्म ईसेन्टिभ दिएर यस्ता लगानीकर्तालाई हौस्याउनु पर्छ ।’

खोटाङका प्रदेश सांसद राजन राईले  नेपालमा प्रशस्तै सम्भावना रहेको जल यातायतमा सबैलाई सहयोग गर्न आग्रह गरे । कोशी नदीमा जल यातायातको काम सुरु गरेर भएको पहललाई प्रशंसा गर्दै आफूले नीतिगत रुपमा सहयोग गर्ने बताउनुभयो ।  जल यातायात सुरक्षित बनाउन लाग्ने लागत अनुमानसहितको तथ्यांक आउनु पर्नेमा उहाँले जोड दिनुभयो ।

उदयपुरका प्रदेश सांसद बिमल कार्कीले पानी जहाजमा अहिलेसम्म सुरक्षाको मापदण्ड नभएको, उठाउनु पर्ने रकमको मापदण्ड नै नभएको,  मनपरि रकम उठाइएकोले यसलाई नियमनको खाँचो रहेको बताउनुभयो । प्रदेश सरकारले पानी जहाजको लागि बजेट छुट्याएर पनि काम गर्न नसकेकोले अब तत्काल पानी जहाजको सम्भाव्यता अध्ययनको काम थालिनु पर्नेमा जोड दिए । 

‘राज्यले बोलेको कुरा कार्यान्वयनमा देखिएको छैन’, उहाँले भन्नुभयो ।  जल यातायात सञ्चालन गरिएसँगै  उदयपुर जिल्लाको उत्तरी उदयपुरको मात्र हैन, सोलु, खोटाङ र ओखलढुङगाका सर्वसाधारणले ठूलो फाइदा लिन पाउने उहाँले बताउनुभयो ।  कोशीमा पानी जहाज सञ्चालन गर्नका लागि देखिएका समस्या र समाधानका लागि कसरी काम गर्ने भन्ने बारेमा छलफल  गरेर निश्कर्षमा पुग्नु पर्ने उहाँले बताउनुभयो ।

सोलुखुम्बुका प्रतिनिधिसभा सांसद रामकुमार राईले जल मार्गमा आएको समस्याको बारेमा समाधान कसरी गर्ने भन्ने कुरा पहिलो प्राथमिकतामा राखिनु पर्ने बताउनुभयो । 

 

 
 

अन्तिम अपडेट: असार १२, २०७६

सुमन तिमल्सिना

उज्यालोका माेरङ सहकर्मी सुमन तिमल्सिना विराटनगरको स्काई एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया