माथिल्लो त्रिशूली थ्री एको ३० मेगावाट विद्युत १७ वैशाखभित्र

 चैत ५, २०७५ मंगलबार १२:४०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणले रसुवा र नुवाकोटमा निर्माण गरिरहेको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको ३० मेगावाट (पहिलो युनिट) विद्युत् आगामी १७ वैशाख (३० अप्रिल २०१९) भित्र आउने भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा सोमबार बसेको आयोजना व्यवस्थापन, परामर्शदाता, मुख्य संरचना र प्रसारण लाइन निर्माणको जिम्मा पाएका ठेकेदार कम्पनीहरुको बैठकले पहिलो युनिटबाट १७ वैशाख भित्रमा विद्युत् उत्पादन सुरु गर्ने निर्णय गरेको हो । 

पहिलो युनिटबाट १७ वैशाखभित्रमा र दोस्रो युनिटबाट १५ असार (३० जुन २०१९)बाट विद्युत उत्पादन गर्ने गरी आयोजनाको काम सम्पन्न गर्न ठेकेदार कम्पनीहरुले प्रतिबद्धता जनाएका छन् । विभिन्न समस्या झैल्दै आएको आयोजना ऊर्जा मन्त्रालय र प्राधिकरणको निरन्तरको प्रयासबाट सम्पन्न हुने अवस्थामा पुगेको छ । 

कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘यसबाट एकातर्फ काठमाण्डौ उपत्यकाबाट नजिक रहेकाले यहाँको विद्युत माग र आपूर्तिको व्यवस्थापनको लागि आयोजना योगदान महत्वपूर्ण रहेको छ भने अर्कोतर्फ त्रिशूली नदी बेसिनमा निर्माण भइरहेका जलविद्युत आयोजनाको विद्युत काठमाण्डौ उपत्यकामा ल्याउन प्रसारण लाइनको पूर्वाधार पनि तयार भएको छ ।’ ६० मेगावाटको आयोजनामा ३०/३० मेगावाटका दुईवटा युनिटहरु रहेका छन् । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले केहीअघि आयोजनाको स्थलगत निरीक्षण गरी तोकिएको समयमै काम सम्पन्न गर्न आयोजना प्राधिकरण, आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीहरुलाई निर्देशन दिनुभएको थियो । 

शुक्रबारबाट  आयोजनाको बालुवा थिग्र्याउने पोखरीभन्दा बाहिर रहेका बाँध, त्यहाँ रहेका गेटलगायतका संरचनाको परीक्षण भइरहेको छ । यो काम ११ चैत्रभित्र सक्ने समय तालिका तय गरिएको छ । त्यसपछि २ वैशाखसम्म बालुवा थिग्रयाउने पोखरी, मुख्य सुरुङलगायतका संरचनाको ड्राई तथा बेट टेष्ट गरिने छ । २ वैशाखपछि विद्युत गृहमा रहेको जेनेरेटरलगायतका उपकहरणरु, पानी निकास सुरुङको ड्राई तथा बेट टेष्ट सम्पन्न गरी १७ वैशाखबाट पहिलो युनिटबाट विद्युत उत्पादनको लक्ष्यका साथ काम भइरहेको आयोजना प्रमुख फडिन्द्रराज जोशीले जानकारी दिनुभयो । 

जोशीले भन्नुभयो ‘अहिले हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकलका उपकरणहरुको जडान र परीक्षण गर्ने काम भइरहेको छ । प्रसारण लाइन पनि १७ वैशाख अगाडि नै तयार पार्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छौँ ।’ आयोजनास्थलबाट काठमाण्डौको मातातीर्थसम्मको २२० केभी प्रसारण लाइनको निर्माण चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेसनले गरिरहेको छ । माता तीर्थमा १३ सय मिटर प्रसारण लाइनलाई भूमिगत गरिएको छ । कम्पनीसँग २ करोड २६ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो । 

कुल अनुमानित लागत १२ करोड ५८ लाख डलर रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भइरहेको हो । इञ्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सिभिल विद्युत्गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सिजिजिसी)स“ग १४ जेठ २०६७ (२८ मे २०१०)मा ठेक्का सम्झौता भएको थियो ।  १७ जेठ २०७१ (३१ मे २०१४)भित्रमा निर्माण सक्ने गरि सीजीजीसीस“ग ८ करोड ९१ लाख ७८ हजार डलरमा ठेक्का सम्झौता भएको थियो ।

गएका दिनमा विद्युत गृह भूमिगत बनाउने या सतही बनाउने विवाद, क्षमता बढाउने निर्णयलगायतका कारणले आयोजनाको निर्माण ढिलाई भएपछि म्याद १६ असार २०७३ (३० जुन २०१६) सम्म थपिएको थियो । भूकम्पले गर्दा आयोजनाको निर्माण तालिका झनै प्रभावित भएको थियो । भूकम्प र पहिरोले काबु बाहिरको परिस्थिति (फोर्स मेजर) उत्पन्न भएपछि प्राधिकरणले आयोजनाको म्याद १७ वैशाख ०७६ (३० अप्रिल २०१९) सम्म थप गरेको थियो । भूकम्प र पहिरोले बाँध स्थलको दायाँ–बायाँ र प्रवेश मार्गको विभिन्न स्थानमा क्षति पुर्याएको थियो । सरकारले  पहिरोको रोकथाम र सडक मर्मतको जिम्मा नेपाली सेनालाई दिएको थियो ।  

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया