अरुकाे इच्छा विपरीत होली खेल्ने वा होहल्ला गर्ने तयारीमा हुनुहुन्छ? सार्वजनिक मुद्दा लाग्ला !

 चैत ५, २०७५ मंगलबार १४:४२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -  तपाइँको होलीको तयारी के छ ? आफन्त साथीभाइलाई रंग लगाएर, पानी छ्यापाछ्याप गरी मनाउँदै हुनुहुन्छ या अरुको इच्छा विपरीत रंग लोला प्रयोग गर्दै हुन्छ । यदि इच्छा विपरीत होली खेल्दै हुनुहुन्छ वा होहल्ला गर्दै हुनुहुन्छ भने तपाइँलाई सार्वजनिक मुद्दा लाग्न सक्छ । 

यस्तै कसैले तपाइँलाई असर पर्ने गरी रंग दलेका छन् या होहल्ला गरेका छन् भने तपाईंले तुरुन्तै प्रहरीलाई खबर गर्न सक्नुहुनेछ । खबर प्राप्त हुनासाथ प्रहरीको टोली घटना भएको ठाउँमा पुग्नेछ । 

बुधबारको होली पर्व मर्यादित र सभ्य बनाउन भन्दै प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ । एक हप्ता अघिदेखि प्रहरीले काठमाण्डाै उपत्यकासहित ७७ वटै जिल्लामा चेतामूलक कार्यक्रम गरिरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताउनुभयो । 

उहाँका अनुसार बुधबार बिहानैदेखि सुरक्षा जाँचमा कडाइ हुने छ । यस्तै ठाउँ ठाउँमा प्रहरी बिट राख्नुका साथै जाँड रक्सीविरुद्धको कारबाही अभियान पनि बिहानैदेखि सुरु हुनेछ । 

यदि कहीँकतै कसैले होली पर्वका नाममा दुख दिए प्रहरीको कन्ट्रोल नम्बर १०० मा तुरुन्त फोन गर्न पनि प्रवक्ता सुवेदीको आग्रह छ । उहाँ भन्नुहुन्छ, ‘जबरजस्ती लोला हाने, रंग लगाए, विकृति फैलाए वा फैलाउने प्रयास गरे तुरुन्त कारबाही हुन्छ ।’ 

यस्तै, पर्वको नाममा मोटरसाइकल चलाउँदा हेलमेट नलगाउने, लापरवाहीका साथ गाडी चलाउने, तीव्र गतिमा गाडी चलाउने, २ पाङग्रे गाडीमा तीनजना राख्ने जस्ता कार्यलाई निरुत्साहित गर्न सुरक्षा योजना ल्याइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

बुधवबार बिहान ७ देखि बेलुकी ७ बजेसम्म प्रहरी वरिष्ठ उपरीक्षकको कमाण्डमा ५९७ जना ट्राफिक प्रहरी सडकमा खटिनेछन् ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया