दाइ नै यति शक्तिशाली छन्, भाइ कसरी जेल जान सक्छन् ?

 चैत ५, २०७५ मंगलबार १६:४८:३८ | एजेन्सी
unn.prixa.net

मुकेश अम्बानी र अनिल अम्बानीलाई आफ्ना बुवा धिरुभाइ अम्बानीबाट व्यापारको साम्राज्य प्राप्त भएको थियो । बुवाको निधनपछि दुई भाइको सम्बन्ध राम्रो रहेन ।

एक दशक पहिले दुई भाइबीचको सम्बन्धमा आएको फाटो सोमबार टालिएको देखियो जब अनिलले समस्याको घडीमा आफ्ना दाजु मुकेश र भाउजू निताले आफूलाई जेल जानबाट बचाएको बताए । स्वीडेनको एक कम्पनी एरिक्स्नको ७ दशमलब ७ करोडको बक्यौता रकम अनिल अम्बानीले यसै हप्ताको बुधबार चुक्ता गरिसक्नुपर्ने थियो ।

यदि उनले त्यो रकम नचुकाएको भए उनले जेल जानुपर्ने थियो । मुकेश अम्बानी समस्याका बेला आफ्नो भाइको सहारा बने र पैसा तिरिदिएर अनिल अम्बानीलाई जेल जानबाट बचाए ।

मुकेश अम्बानी विश्वका सबैभन्दा धनी उद्योगपतिहरुको सूचीमा पर्छन् । फाइनान्सियल टाइम्सका अनुसार मुकेश अम्बानीसँग जम्मा ४२ अर्ब डलर बराबरको सम्पत्ति छ । सुरुमा दुई भाइको राम्रो प्रगति भयो । सन् २००८ मा त अनिल अम्बानी पनि विश्वकै आठौँ धनी व्यक्ति बनेका थिए ।

हुन त अहिले अनिल अम्बानीलाई उनका दाजुले बचाए । अनिल अम्बानीको रिलायन्स कम्युनिकेशन कम्पनी नराम्रोसँग घाटामा गयो । तर सत्य त यो हो कि, रिलायन्स कम्युनिकेशन घाटामा जानुमा मुकेश अम्बानीको नयाँ टेलिकम कम्पनी जियोको ठूलो हात रहेको छ ।

१६ वर्ष पहिले उनीहरुका बुवा धिरुभाइ अम्बानीको निधन भयो । त्यसपछि दुई भाइहरुमा मनमुटाव सुरु हुन थाल्यो । धिरुभाइ अम्बानीले आफ्नो जीवनमा कामको सुरुवात यमनमा एक पेट्रोल स्टेशनबाट गरेका थिए । उनी त्यहाँ पेट्रोल भर्ने काम गर्थे ।

भारत फर्केपछि उनले कपडाको सानो व्यापार सुरु गरे र यही व्यापार रिलायन्स इण्डस्ट्रिज साम्राज्यसम्म पुग्यो । अनिल अम्बानीको जन्म सन् १९५९ मा भएको थियो । उनको लालनपालन एक व्यापारी घरानामा भएको हो । भनिन्छ कि धिरुभाइ अम्बानी हुँदा पनि दुईटै भाइहरुको जीवनशैलामा धेरै फरक थियो । मुकेश अम्बानी जहिले पनि कामको विषयमा चिन्तित रहन्थे भने अनिल वैभवता रुचाउँथे ।

सन् २००२ मा बुवाको निधनपछि दुई भाइहरुमा कारोबारको अंशबण्डा गर्ने निर्णय भयो । २००५ मा उनकी आमाले दुई भाइहरुमा रिलायन्स कारोबारको भागबण्डा गरिदिइन् । मुकेशलाई पेट्रोकेमिकल मिल्यो भने अनिल अम्बानीको भागमा टेलिकम, फाइनान्स र इनर्जी यूनिट आयो ।

यो भागबण्डापछि दुई भाइहरुबीच मनमुटाव बढ्न थाल्यो । सन् २००८ मा रिलायन्स कम्युनिकेशनले दक्षिण अफ्रिकाको एमटीएनसँग सम्झौता गर्‍यो जुन मुकेश अम्बानीको लागि तर्साउने कुरा थियो ।

त्यो अन्तर-महादेशीय सम्झौता थियो । जसमा मुकेश अम्बानीको कम्मनी आरआईएलले कडा आपत्ति जनाएको थियो । तर पारिवारिक व्यवस्थापनसँगै जुडिएका थुप्रै समस्या भएका कारण मुकेश अम्बानीले एमटीएनलाई यो भन्दा अगाडि नबढ्न भनेका थिए । त्यही  वर्ष विश्वमै आर्थिक मन्दी भयो र अनिल अम्बानीमाथि यसको गहिरो चोट पर्न गयो ।  एक अनुमानका अनुसार यसै मन्दीमा अनिल अम्बानीलाई ३१ अर्ब डलरको घाटा भएको थियो ।

दुई भाइहरुबीच एक अर्काको व्यवसायमा नआउने सम्झौता भएको थियो । सन् २०१० मा यो सम्झौताको म्याद सकियो । मुकेश अम्बानीले सम्झौता सकिनेबित्तिकै अर्को वर्ष टेलिकममा ३४ अर्ब डलर लगानी गर्ने घोषणा गरे ।  ‘द बिलेनियर राज’ किताबका लेखक  सिंगापुरमा ली कुआन यव स्कुल अफ पब्लिक पोलिसीको प्रोफेर जेम्स कार्बट्रीले ब्लुमबर्गसँग भने, ‘यो एकदमै ठूलो दाउ थियो । जियो आउनु नै निकै ठूलो परिघटना सावित भयो ।’

टेलिकम व्यापारमा मुकेशको जियो आएपछि अनिल अम्बानीको समस्या झन विकराल भएको कुरा सबैले स्वीकारेका छन् । तीनवर्ष भित्रै जियोका ३० करोड प्रयोगकर्ता बने । टीएसएल, टेलिनार, एमटीएस जस्तै रिलायन्स कम्युनिकेशन्सले पनि सञ्चार व्यवसायबाट हात धुनुपर्‍यो ।  

जियोले फाेरजीको प्राइस वारमा सबैलाई पछि पारिदियो । जियोको प्रवेश हुनुभन्दा अगाडि नै आरकमको शेयरमा ९ दशमलब ५४ प्रतिशतको गिरावट आयो । र अक्टोबर २०१७ मा आरकमको शेयर ५ दशमलब २० प्रतिशतमा झर्‍यो ।

सन् २०१२ मा आरकमलाई पछि पार्दै भोडाफोन दोस्रो स्थानमा आइपुग्यो । २०१६ मा आरकम चौथो नम्बरमा आयो । सर्वोच्च अदालतले कतिपय कम्पनीको लाइसेन्स पनि स्थगित गरिदियो र सीबीआई जाँच पनि भयो ।  

अनिल अम्बानीलाई पनि अदालत धाउनु पर्‍यो र आफ्नो कम्पनी समस्यामा परेको कुरा स्वीकार्नुपर्‍यो । आरकम ऋणको जालोमा फस्दै गयो । सन् २०१० मा २५ हजार करोडको ऋण ४३ हजार करोडसम्म पुग्यो ।

शाकाहारी अनिल अम्बानी रक्सी पनि पिउँदैनन् । म्याराथन दौडन उनलाई मन पर्छ । तर व्यवसायको दौडमा उनी धरमराएको कहानी जुनसुकै उद्योगपतिहरुको लागि पनि शिक्षा बन्नसक्छ । अनिल अम्बानीले एकपटक हिन्दू अखबारसँग दैनिक दुई घण्टा ट्रेडमिल र ३० मिनेट योगा गर्ने गरेको बताएका थिए ।

भनिन्छ अनिल अम्बानीले आफ्ना दाजुलाई हरेक क्षेत्रमा प्रतिस्पर्धीको रुपमा हेर्ने गर्थे । दुईले सार्वजनिक रुपमै एक अर्काको विरुद्धमा काम गरेको आरोप लगाए ।

एकपटक त यो प्रतिस्पर्धापन यतिसम्म भइदियो कि मुकेश अम्बानीले आफ्नी श्रीमतीलाई ५ करोड डलरको जेट गिफ्ट दिए । उता अनिलले पनि आफ्नी श्रीमतीलाई ८ करोड डलर बराबरको लक्जरी याट (पानीजहाज) गिफ्ट दिए ।

दुई दाजुभाइबीच ग्यासको व्यापारलाई लिएर झगडा सुरु भयो । यसमा सरकार र अदालतले पनि हस्तक्षेप गर्नुपर्‍यो । मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिज बंगालको खाडीस्थित डी ६ ब्लकबाट ग्यासको पूर्ति भाइ अनिल अम्बानीको कम्पनी रिलायन्स नेचुरल रिसोर्सेजले तोकिएको मूल्य २ दशमलब ३४ डलरप्रति मिलियन थर्मल युनिट्समा गर्थ्याे।

यो १७ वर्षको करार थियो । तर रिलायन्स इन्डस्ट्रिजले यो सरकारी दर भएको बताएको छ । २००७ मा मूल्य दुई गुना गरियो । यो मूल्य सरकारले बढाएको थियो र तेलको मूल्य बढ्ने तर्क गरेको थियो ।

अनिल अम्बानीले यस मुद्धालाई अदालतसम्म लिएर गए । त्यसपछि सरकार पनि खुलेर अगाडि आयो ग्यास अर्बपतिहरुको निजी सम्पत्ति नभएर राष्ट्रिय सम्पत्ति भएको बतायोे ।

मुकेश अम्बानी म्याराथन दौडदैनन् तर उनी शाकाहारी हुन् । मुकेशलाई मनपर्ने खाना सादा दालभात र रोटी नै हो । न्यूयोर्क टाइम्सले आफ्नो एक आलेखमा लखेको थियो, ‘गएको शताब्दीमा भारतका सबैभन्दा ताकतदार व्यक्ति महात्मा गान्धी थिए अहिले मुकेश अम्बानी ।’

जसका दाइ यति शक्तिशाली छन् उनी कसरी जेल जान सक्छन् ? तर अनिल अम्बानीको समस्या एरिक्सनको ऋण मात्र छैन, यस्तोमा प्रश्न उठ्छ कि के मुकेश अम्बानी आउने दिनमा पनि भाइलाई सहयोग गर्लान् त ? 

-बीबीसी हिन्दीबाट अनूदित

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया