होलीमा रङ खेल्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

 चैत ६, २०७५ बुधबार ११:५१:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

होलीमा रङ खेल्दै हुनुहुन्छ ? सावधान रहनुहोस् । होली खेल्दा रमाइलो त हुन्छ नै, होलीमा प्रयोग हुने रङले तपाईलाई असर पनि पुर्‍याउन सक्छ । 

होलीमा प्रयोग गरिने रङले शरीरमा सङ्क्रमण र एलर्जीको सम्भावना हुन्छ । रङमा प्रयोग गरिएका रसायनका कारण अनुहार बिग्रने र कपाल झर्ने समस्या पनि आउन सक्छन् । 

साना–साना बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले होलीको मज्जा लिने गर्छन् । वर्ष दिनमा मनाइने होली भन्दैमा अत्यधिक रंग प्रयोग गर्न नहुने छाला रोग विशेषज्ञले सुझाएका छन् ।

छाला रोग विशेषज्ञ डा. राजनबाबु ताज्याका अनुसार, ‘सकेसम्म रङ मुखभित्र पार्नु हुँदैन, आँखा र नाकलाई पनि बचाउनुपर्छ, संवेदनशील अंगमा रङले नकारात्मक असर गर्छ ।’ बजारमा बेचिने रङमा अत्यधिक रसायनयुक्त पदार्थ प्रयोग गरिने हुँदा सतर्कता अपनाउनुपर्ने हुन्छ । केमिकलयुक्त रङ र घामका विकिरण एक–आपसमा मिसिँदा यसले छालामा एक किसिमको एलर्जी हुन्छ । 

रंग दलेर धेरै बेर घाममा बस्न नहुने उहाँको सुझाव छ । ‘रंग लगाइहाले पनि अघिपछि भन्दा बाक्लो पारेर अनुहारमा ३० एसपीएफ भन्दा माथिको सनस्क्रिन क्रिम लगाउनुपर्छ, कपाल जोगाउन  तेल लगाउन सकिने उहाँले बताउनुभयो ।  

होलीमा रमाइलोका लागि चिच्चाउने, कराउने गरिन्छ । यसले शरीरमा ‘डिहाड्रेसन’ गराउने हुँदा पानी खाइरहनुपर्ने विशेषज्ञ सुझाव छ । त्यस्तै एकैपटकमा रङ पखाल्ने भन्दै जबरजस्ती अनुहार घोट्ने, कडा साबुन प्रयोग गर्ने गर्नु हुँदैन ।

बजारमा होलीका लागि छुट्याइएका रङले छाला चिलाउने, पोल्ने अथवा आँखामा पर्यो भने आँखा दुख्ने, रातो हुने समस्या देखिन थाल्छ । ‘रङमा प्रयोग गरिने आईसीडी नामको केमिकलले छाला रातो हुने, चिलाउने फुस्रो हुने या फोका उठ्ने समस्या पैदा गर्छ । छाला बिगार्छ । यसै पनि छाला सुख्खा छ भने छिट्टै पखाल्नु पर्छ । 

रङको प्रयोगले कसैलाई भने बेहोस हुने र स्मरणशक्ति कम हुने समस्या पनि आउन सक्ने हुन्छ । त्यसैले रङको प्रयोग गर्दा सावधान रहन जरुरी छ । 

होली खेल्नुअघि र खेलिसकेपछि ध्यान दिनुपर्ने कुराहरु 

–होली खेल्न भन्दा आधा घण्टा पहिला राम्रोसँग अनुहारमा ३० एसपीएफभन्दा माथिको सन स्क्रिन क्रिम लागाएर खेल्ने ।

–यदि छाला धेरै सुख्खा छ भने पहिला मोस्चराइज क्रिम लागाउने अनि सन स्क्रिन क्रिम लागाउने ।

–लामो समयसम्म शरीरमा रङ नराख्ने ।

–सफा पानीले मात्रै मुख धुने । पानी धेरै पिउने ।

–पुरै शरीर छोपिने कपडा लगाउने ।

–आँखामा चस्मा तथा सन गगल्स लगाउने ।

–रङ निकाल्नका लागि छाला बेस्सरी रगड्नु हुँदैन । रङ खेल्नुअघि तेल लगाउने जसले गर्दा रङ छालाबाट सजिलै निकाल्न सकिन्छ ।

–नुहाइसकेपछि पनि मोस्चराइज क्रिम लगाउने ।

–होली खेलेको एक हप्तासम्म फेसमा क्लिन्जिङ, फेसियल तथा स्क्रब नगर्ने । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया