साफ महिला च्याम्पियनिसप : फाइनलमा नेपाल र भारतकाे भेट पक्का

 चैत ६, २०७५ बुधबार १७:८:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

माेरङ - पाँचौ साफ महिला च्याम्पियनिसपको उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएकाे छ ।

बुधबार भएका सेमिफाइनलमा आ-आफ्ना प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै नेपाल र भारतले शुक्रबार हुने उपाधि भिडन्त पक्का पारेका हुन् ।

नेपालले श्रीलंकामाथि ४–० को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । नेपालको जितमा पुनम जर्घा मगर, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले एक-एक गोल गरेका थिए ।

यस्तै बुधबार नै भएको दोस्रो सेमिफाइनलमा गत संस्करणका उपाधि विजेता भारत र उप-विजेता बंगलादेश आमनेसामने भएका थिए । जसमा डिफेन्डिङ च्याम्पियन भारतले बंगलादेश माथि ४–० को फाराकिलो अन्तरले पराजित गरेको थियो ।

बंगलादेशविरुद्ध सुरुदेखि आक्रामक फुटबल खेलेको भारतले पहिलो हाफमै ३ गोल गरेको थियो । १७ औं मिनेटमा भारतले पाएको कर्नर किकलाई रुप्ना चक्माले गोलमा परिणत गर्दै भारतलाई सुरुवाति अग्रता दिलाएकी थिइन् । २२ औं मिनेटमा इन्दुमति काथरासेनले सहज गोल गर्दै गोलसंख्या दोब्बर बनाइन् ।

३७ औं मिनेटमा सन्ध्या रन्जनाथनको क्रसमा इन्दुमतिले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्न सफल भइन् । भारतले पहिलो हाफमै ३–० को अग्रता बनाएको थियो । दोस्रो हाफमा पनि भारतले आक्रमक मुभ बनाए पनि गोल भने गर्न धौधौ परेको थियो ।

भारतका लागि सन्जु यादवले उत्कृष्ट मुभहरु बनाएकी थिइन् । इन्जुरी टाइममा भारतका लागि सब्स्टिच्यूट खेलाडी अञ्जु तामाङले चौथो गोल गरेकी थिइन् ।

भारतले अहिलेसम्म लगातार चार संस्करणको उपाधि जितिसकेको छ भने नेपाल तीन पटक फाइनलमा पराजित भएको छ भने एक पटक सेमिफाइनलमा पराजित भएको थियो ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया