‘विदेशमा पैसा कमाएँ तर आत्मसन्तुष्टि भएन’

 चैत ७, २०७५ बिहिबार ११:५३:१९ | रासस


तनहुँ – तनहुँको व्यास नगरपालिका–२ दमौलीका चन्द्र कायस्थ मंगलबार बिहान नौ बजे नै म्याग्दे गाउँपालिका–४ बडहरेमा रहेको माछापोखरी पुग्नुभयो । 

पोखरीबाट माछा निकाल्न लागेको  थाहा पाएलगत्तै उहाँ र दमौलीकै कृष्ण रुचाल त्यहाँ पुग्नुभएको थियो । उहाँहरु माछापोखरी पुग्दा सञ्चालक गणेशकुमार श्रेष्ठसहित स्थानीय गाउँले पोखरीबाट माछा निकाल्न व्यस्त थिए । झण्ड दुई घण्टा पर्खेर कायस्थले १० र रुचालले १ केजी माछा किन्नुभयो । 

कायस्थ र रुचाल मात्रै होइन पोखरीबाट माछा निकाल्ने थाहा पाएपछि अरु ग्राहक पनि माछा किन्न पोखरीमै पुगेका थिए । कायस्थले पोखरीको माछा मीठो हुने भएकाले आफूले सधैं यहीँबाटै माछा लाने गरेको बताउनुभयो ।

दमौलीका अरु ग्राहकले समेत माछा ल्याइदिन आग्रह गरेपछि आफूले सबैका लागि माछा किनेर लाने गरेको उहाँले बताउनुभयो । सञ्चालक गणेशकुमार श्रेष्ठले मंगलबार पोखरीबाटै १०० केजी माछा बिक्री भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘माछा कहिले निकाल्ने भनेर सोध्छन्, मैले जुन दिन निकाल्ने भनेर खबर गर्छु उहाँहरु पोखरीमै आइपुग्नुहुन्छ ।’ कहिलेकाहीँ माछा किन्न आउनेलाई रित्तो हात फर्काउनुपरेको भन्दै उहाँले भन्नुभयो, ‘सबै माछा बिक्री हुन्छ जस्तो लागेको थिएन, थुप्रैलाई माछा पुर्‍याउन सकिन्न ।’

पोखरीमै माछा प्रतिकेजी ४ सय रुपैयाँ पर्छ । माछाका लागि बजारको कुनै समस्या नरहेको बताइएको छ । उहाँले भन्नुभयो, ‘माछा बिक्री गर्दै बजारसम्म जानुपर्ने अवस्था छैन, पोखरीबाटै छोपाछोप हुन्छ ।’

 श्रेष्ठले २० रोपनी क्षेत्रफलमा तीन वटा पोखरी निर्माण गरी माछापालन गरिरहनुभएको छ । पोखरीमा रहु, कमन, ग्रास, नैनी जातका माछा छन् । वार्षिक  १० लाख रुपैयाँभन्दा बढीको माछा बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो । माछापालनका लागि श्रेष्ठलाई छोरा भीष्म श्रेष्ठले सघाइरहनुभएको छ । माछापालनको सुरुवात भीष्मले नै गर्नुभएको थियो । 

विदेशबाट फर्किएर माछापालन 

भीष्म १० वर्ष दुबई बस्नुभयो । वैदेशिक रोजगारीका लागि दुबई पुग्नुभएका उहाँले त्यहाँ मिनरल वाटर कम्पनीमा काम गर्नुभयो । २०५९ देखि २०६९ सालसम्म विदेशमा बसेर काम गर्दा उहाँले पैसा त कमाउनुभयो, तर आत्म सन्तुष्टि कमाउन सक्नुभएन । भन्नुहुन्छ, ‘विदेश गएर पैसा त कमाएँ तर आत्मसन्तुष्टि भएन ।’

उहाँलाई लाग्यो, विदेशमा बसेर यति दुःख गरेर कमाउने जति त स्वदेशमै बसेर दुःख गरेर पनि कमाउन सकिन्छ । दुबई बसाईकै क्रममा उहाँलाई स्वदेश फर्किएर माछापालन व्यवसाय गर्ने सोच आयो । उहाँले लगत्तै आफ्ना बुवा गणेशकुमार श्रेष्ठलाई माछापालनबारे सुनाउनुभयो, बाबुले पनि उहाँको प्रस्तावमा सहमति जनाउनुभयो । 

भीष्म २०६९ सालमा स्वदेश फर्किनुभयो । लगत्तै माछापालन गर्न केही प्राविधिक कठिनाइ भयो । त्यतिबेला उहाँ मलेसिया पनि जानुभयो । तर ६ महिनामै फर्किनुभयो । उहाँ भन्नुहुन्छ, ‘विदेशमा बस्दा नै फर्किएपछि माछापालन गर्छु भन्ने सोच बनाइसकेको थिएँ।’

स्वदेश फर्किएपछि उहाँले दमौलीमा होटल पनि चलाउनुभयो अनि २०७१ सालदेखि माछापालन व्यवसाय थाल्नुभएको हो । भीष्मका बाबु गणेशकुमार श्रेष्ठ भन्नुहुन्छ, ‘अरुले जग्गा भाडामा लिएर माछापालन गरेकोसमेत देखें, तर हाम्रो त आफ्नै जग्गा छ त्यसमै माछापालन गरौं न भनेर छोरासँग सल्लाह गरें ।’

सुरुमा उहाँहरुले छ रोपनी क्षेत्रफलमा दुई वटा माछापोखरी खन्नुभएको थियो । त्यसका लागि तत्कालिन कृषि विकास कार्यालयले ६० हजार रुपैयाँ सहयोग गरेको थियो ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया