साफ महिला च्याम्पियनसिप : चारै संस्करण जितेकाे भारतलाई हराउँदै इतिहास रच्ने दाउमा नेपाली टाेली

 चैत ७, २०७५ बिहिबार १३:२८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

विराटनगरमा भैरहेकाे पाँचौ साफ महिला फुटबल च्याम्पियनसिपको फाइनल खेल शुक्रबार हुँदैछ । 

विराटनगरको शहीद रंगशालामा दिउँसो तीन बजे पछि सुरु हुने खेलमा नेपाल र भारत आमने–सामने हुन लागेका हुन् । नेपालले सेमिफाइनलमा श्रीलंका र भारतले बंगलादेशलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका छन् । 

नेपाल पाँच संस्करण मध्य चौथो पटक फाइनलमा पुगेको छ भने भारतले लगातार पाँचौं फाइनल खेलेको छ । 

साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपालले पुरानै प्रतिद्वन्द्वी पाएको छ । यो नौलो कुरा होइन, दक्षिण एसियाली महिला फुटबलमा भारत र नेपाल शीर्ष दुई टिम हुन् । तर, साफ च्याम्पियनसिपमा नेपालमाथि भारतको दबदबा कायम छ ।

प्रतियोगिताको चार संस्करण सकिँदा भारत नै नेपालको सफलताको बाटोमा तगारो बन्दै आएको छ । तर, समय फेरिएको छ । अहिलेको प्रतियोगिता नेपाली मैदानमा हुँदैछ । नेपाली दर्शकका बीचमा । प्रशिक्षक हरि खड्का भन्छन्,‘यो हाम्रो गृहमैदान हो । हाम्रो मतृभूमि हो ।’ ‘हामी भारतको दबदबा ताेड्नका लागि तयार छौं । अवश्य पनि हामी उपाधि उचाल्नेछौं । भोलिको दिन हाम्रो हुनेछ’, प्रशिक्षक खड्काले थपे ।

यति भन्दै गर्दा पनि भारतको बलियो पक्षलाई नजरन्दाज गर्न मिल्दैन । दक्षिण एसियामा स्थापित भइसकेको भारत, पूरा एसियामा पनि आफ्नो प्रभाव जमाउँदै आएको छ । भारतीय फुटबलमा ठूलो मात्रामा लगानी छ । नेपाल भने स्थापित गर्ने क्रममा रहेको भनाइ प्रशिक्षक खड्काको छ । ‘हाम्रो गोर्खालीपनले उनीहरुलाई डोमिनेट गर्ने हो । भारतबाट मनोवैज्ञानिक दबाब महसुस गर्ने नेपालीको बानी अहिले हटेको छ । त्यो हाम्रो बलियो पक्ष हो ।’

प्रशिक्षक खड्काले टिम सम्हालेपछि नेपालले भारतविरुद्ध दुईवटा म्याच खेलेको छ । दुवै म्याचमा भारतले नेपाललाई हराउन सकेन । एउटा खेलमा जित र अर्को खेल बराबरी भएको थियो । ‘दुईवटा नतिजाले गर्दा खेलाडीहरुको मनोबल उच्च छ’, भारतका तीन–चार जना खेलाडीलाई रोक्नु पर्ने धारणा प्रशिक्षक खड्काको छ । ‘उनीहरुको विङ्ग र मिडफिल्ड साइड अलि बलियो देखिएको छ । हामी एट्याकिङ फुटबलमा विश्वास गछौं । भोलीको म्याचमा पनि आफ्नो सेपलाई कायम राखेर आक्रामक फुटबल खेल्नेछौं । अहिले हाम्रो टिम सन्तुलित छ । खेलाडीमा आत्मबल पनि उच्च छ ।'

तर, नेपाली स्ट्राइकर सावित्रा भण्डारीले श्रीलंकाविरुद्ध सेमिफाइनलमा सोचेजस्तो प्रदर्शन गर्न सकिनन् । श्रीलंकाले कम्प्याक्ट डिफेन्सिभ खेलेका कारण सावित्रा चल्न नसकेकी हुन् ।

तर, फाइनलमा सावित्राले राम्रो खेल्ने विश्वास प्रशिक्षकको छ । ‘भोलि भारतले पनि आक्रामक फुटबल नै खेल्नेछ । अन्य टिमहरुसँग भन्दा भारतविरुद्ध सावित्राले खुलेर खेल्न सक्नेछिन् ।’

‘माथि बसेको डाइरेक्टरले पाँचौं साफ नेपालको विराटनगरमा आयोजना हुन्छ, र अलि बढी मेहनत गर्‍यो भने नेपालले उपाधि जित्छ भनेर भनेको छ रे’, प्रशिक्षक खड्काको यो भनाइले प्रिम्याच कन्फ्रेन्समा हासोँको माहोल बनायो ।

कप्तान निरु खड्काले प्रशिक्षकले दिएको जिम्मेवारी पूरा गर्न सकेको खण्डमा उपाधि जित्ने प्रतिक्रिया दिइन् । ‘भारत भन्नेबित्तिकै हामीलाई डर लाग्थ्यो । प्रशिक्षकले हामीलाई प्रोत्साहन दिनुहुन्थ्यो । त्यही अनुसार खेल्यौं र हामीले नतिजा आफ्नो पक्षमा पार्न सफल भयौं’, यसअघि भारतसँग खेलेको दुई म्याचको स्मरण कप्तानले गरिन् । नेपालले ओलम्पिक छनोट प्रतियोगितामा भारतलाई बराबरीमा रोकेको थियो भने हिरो कपमा हराएको थियो । ‘भारतलाई हराउन सक्दो रहेछौं भन्ने आत्मविश्वासले खेलेका कारण हामीले जितेका थियौं । भोलिको खेलमा पनि राम्रो खेल प्रदर्शन गर्नेछौं’, प्रिम्याच कन्फ्रेन्समा निरुले बताइन् ।

त्यस्तै भारतकी प्रशिक्षक मायामुल रकीले यो संस्करणको उपाधि पनि जित्ने विश्वास व्यक्त गरेकी छिन् । म्याच जसको पक्षमा गए पनि फाइनल रोमाञ्चक हुने प्रतिक्रिया प्रशिक्षक रकीको छ । ‘फाइनल सँधै रोमाञ्चक हुन्छ । चाहे खेल्न होस वा हेर्न’, प्रशिक्षक रकीले थपिन,‘नेपाल पनि अवश्य तयार भएको छ, हामी नेपालको सामना गर्न तयार छौं ।’

पछिल्लो प्रतियोगितामा नेपालले भारतलाई उसकै मैदानमा हराएको थियो । एक महिना अघि हिरो कपमा नेपालले हराएको थियो । त्यसको कारणले गर्दा पनि नेपाली टिमको आत्मविश्वस बढेको छ । तर भारतीय प्रशिक्षकको बुझाइ छुट्टै छ । ‘हाम्रो लागि यो नयाँ प्रतियोगिता हो, नयाँ म्याच हो, अघिल्लो खेलको नतिजा के थियो, त्यसले फरक पार्दैन’, प्रशिक्षकले भनिन् । भारत घरेलु मैदान र घरेलु समर्थकका बीचमा खेल्न पनि अभ्यस्त भइसकेको प्रतिक्रिया प्रशिक्षकको छ ।

फाइनलमा जसले कम गल्ती गर्‍यो, जसले राम्रो खेल्यो, उसले उपाधि जित्ने भनाइ भारतीय प्रशिक्षकको छ । भारतीय कप्तान अष्टलता देवीले भने यो संस्करणको उपाधि पनि जित्ने आशा व्यक्त गरिन्, 'पछिल्लो चार वर्षदेखि हामीले साफ च्याम्पियनसिप जित्दै आएका छौं । भोलिको खेल जित्छौं भन्ने आशा छ ।’

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया