कामना न्यूज पब्लिकेशनका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको अवस्था गम्भीर

 चैत ७, २०७५ बिहिबार १५:५७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कामना न्यूज पब्लिकेशन (नेपाल समाचारपत्र राष्ट्रिय दैनिक) का प्रधान सम्पादक पुष्करलाल श्रेष्ठ गम्भीर बिरामी हुनु भएको छ । केही दिनदेखि ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालको सघन उपचार कक्षमा उहाँको उपचार भैरहेको छ ।

झण्डै चार महिना अघि नाकमा समस्या भएका कारण राजधानीको बयोधा अस्पतालमा नाकको र ब्लुक्रसमा मृगौलाको पत्थरीको शल्यक्रिया गरिए पनि उहाँमा विभिन्न स्वास्थ्य समस्या देखा परेपछि पूर्ण रुपमा निको हुन नसकेको उहाँका छोरा तथा पब्लिकेशनका प्रबन्ध सम्पादक दिरेकलाल श्रेष्ठले प्रेस विज्ञप्तिमार्फत जानकारी दिनु भएको छ ।

श्रेष्ठको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँलाई केही समयअघि थप उपचारका लागि भारतको हरियाणामा रहेको मेदान्त अस्पताल पनि लगिएको थियो । 

स्वास्थ्यमा केही सुधार आएसँगै उहाँलाई काठमाण्डौ ल्याएर केही समय नर्भिक अस्पतालमा नै राखेर औषधि उपचार गर्नुका साथै फिजियो थेरापीलगायतका विधिबाट उपचार गरिएको र स्वास्थ्य अवस्था सामान्य बन्दै गएको स्थितिमा घरमा नै राखेर फिजियो थेरापीलगायतका विधिबाट उपचार गर्न सकिने चिकित्सकको परामर्शअनुसार भैंसेपाटीस्थित निवासमा राखिएको थियो ।

यसरी उहाँको नियमित उपचार प्रक्रिया चल्दै गर्दा फेरि उहाँमा गम्भीर स्वास्थ्य समस्या देखा परेपछि आइतबारदेखि नेपाल मेडिसिटी अस्पताल लगि सघन उपचार कक्षमा उपचार हुँदै आएको छ । उहाँको नेपाल मेडिसिटी अस्पतालको सघन उपचार कक्षमा उपचार हुँदै आए पनि उहाँको स्वास्थ्य स्थिति जटिल र स्थिर अवस्थामा नै रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

सबैको आर्शीवाद, शुभेच्छा र कामनाले उहाँमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि भई पुनः सक्रिय पत्रकारिता गर्न सक्षम हुने अपेक्षा कामना पब्लिकेशनले राखेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ । 
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया