पाँच लाख सहयोगी जुटाउने अभियानमा सोलुखुम्बु बहुमुखी क्याम्पस

 चैत ८, २०७५ शुक्रबार ११:५१:३३ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

काठमाण्डाै – सोलुखुम्बुमा रहेको सोलुखुम्बु बहुमुखी क्याम्पस प्राविधिक शिक्षा सञ्चालनका लागि पाँच लाख नागरिकबाट एक अर्ब रुपैयाँ जुटाउने अभियान शुरु गरिएको छ । आउँदो पाँच वर्षभित्र नेपालमै पहिलोपटक माउन्टेनेरिङ्ग कक्षा सञ्चालनसँगै उत्कृष्ट शैक्षिक गन्तव्य बनाउने लक्ष्य सहित अभियान शुरु गरिएको क्याम्पस प्रमुख उद्धवकुमार शर्माले बताउनुभयो । 

क्याम्पसले वि.स. २०८० सालभित्र पाँच लाख मानिसबाट न्यूनतम एक सय रुपैयाँका दरले सहयोग संकलन गर्ने जनाएको छ । यसको लागि क्याम्पसले मेची–काली विश्व अभियान शुरु गरिसकेको छ । अघिल्लो महिना मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष समारोहका साथ अभियानको उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले शैक्षिक विकासका लागि विकट जिल्लामा शुरु भएको अभियान महत्वपूर्ण हुने बताउनु भएको थियो ।

पाँच लाख नागरिक, पाँच हजार सरकारी तथा गैरसरकारी संस्था र न्यूनतम २५ राष्ट्रको नागरिकलाई यस अभियानमा प्रत्यक्ष सहभागी गराइने क्याम्पसले जनाएको छ । २०५० सालमा स्थापना भएको यो क्याम्पसले स्थापनाको २५ वर्ष पुगेको अवसरमा अभियान शुरु गरेको हो ।

अभियानबाट संकलन गरिएको रकमबाट प्राविधिक शिक्षाको विषय थप्ने, स्नातक र स्नातकोत्तर तहमा ट्राभल टुरिजम एन्ड माउन्टेनियरिङ विषयको पढाइ सञ्चालन गरेर अभ्यासमुलक कामका लागि हिमालमै प्रत्यक्ष अवलोकन गराउने तथा यस्ता विषय पढ्न विदेशी विद्यार्थीलाई समेत आकर्षित गराउने योजना रहेको क्याम्पसले जनाएको छ ।

एक अर्ब रकम संकलन गरेर त्यसबाट कोष स्थापना गरी ब्याजबाट क्याम्पस सञ्चालन गर्ने योजना छ ।  कोषबाट ७७ वटा जिल्लाबाट प्रतिजिल्ला दुई जना र ट्राभल टुरिजम एन्ड माउन्टेनियरिङ विषयमा २५ वटा राष्ट्रबाट एक जना तथा अन्य पिछडिएका क्षेत्रबाट समेत गरी पाँच सय विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गरिने क्याम्पसले जनाएको छ । योजना महत्वकांक्षी भए पनि पूरा हुनेमा क्याम्पस प्रमुख शर्मा विश्वस्त हुनुहुन्छ ।

शर्मा भन्नुहुन्छ ‘पहिलोपटक सुन्दा सबैलाई पूरा गर्न सकिन्छ र जस्तो लागे पनि यो काम पूरा हुनेछ’ मौरीको उदाहरण दिँदै प्रमुख शर्मा सानो किराले धेरै मह जम्मा गरेजस्तै थोरै÷थोरै रकमबाट ठूलो काम सम्भव हुने बताउनुहुन्छ । 

अहिले कक्षा ११, १२, स्नातक र स्नातकोत्तर तहमा गरी ६ सय भन्दा धेरै विद्यार्थी अध्ययन गर्ने क्याम्पसमा विद्यार्थी थपसँगै उनीहरुको लागि आवासको समेत व्यवस्था गर्ने क्याम्पसको लक्ष्य छ । पाँच हजार विद्यार्थी पढाउने लक्ष्य लिएको क्याम्पसले उनीहरुको लागि खाद्यान्न लगायत उत्पादन र व्यवस्थापनमा रोजगार तथा स्वरोजगारको व्यवस्था समेत गरिने क्याम्पसको भनाइ छ । 

पहिलोपटक सगरमाथा आरोहण गर्ने एडमण्ड हिलारीको सहयोगमा र हिमालयन ट्रष्ट लगायत संस्थाबाट सहयोग पाएको क्याम्पसले आगामी दिनमा पनि सहयोग जुटाएर प्राविधिक र गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य रहेको क्याम्पस प्रमुख शर्माले बताउनुभयो ।

न्यूनतम एक सय रुपैयाँ सहयोग गरेपछि जो कोही क्याम्पसको सञ्चालक बन्न पाउने र पाँच लाख मानिस सञ्चालक रहेको पहिलो सामुदायिक क्याम्पसको रुपमा वल्र्ड रेकर्ड गिनिज बुकमा नाम समेत लेखाउने अभियान रहेको क्याम्पस प्रमुख शर्माले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १२, २०८०

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया