गोरखाका द्वन्द्वपीडित भन्छन् - देशमा फेरि युद्ध नहोस्

 चैत ८, २०७५ शुक्रबार १७:१९:२५ | किरण लोहनी
unn.prixa.net

गोरखा – गोरखाका द्वन्द्वपीडितहरुले देशमा फेरि युद्धको संकेत देखिएको भन्दै त्यसलाई रोक्न आग्रह गरेका छन् । 

१० वर्षे सशस्त्रयुद्धका क्रममा राज्य र तत्कालीन विद्रोही पक्षका कारण पीडामा परेकाहरुले देशमा दीर्घकालीन शान्ति हुनुपर्नेमा जोड दिएका हुन् । द्वन्द्वपीडित साझा चौतारीले सदरमुकाममा गरेको अन्तक्र्रिया कार्यक्रममा उनीहरुले एउटा युद्धको घाऊ नपुरिँदै फेरि अर्को युद्धको संकेत देखिएकाले त्यसलाई बेलैमा रोकथाम गर्नुपर्ने बताएका हुन् । 

कार्यक्रममा द्वन्द्वपीडित दिपक हमालले भन्नुभयो, ‘पहिलेको युद्धको घाउ नपुरिँदै फेरि अर्को युद्धको संकेत देखिन थालेको छ, हिजो त्यस्तै युद्ध भोगेर गएकाहरुले फेरि युद्ध निम्त्याउन खोजिरहेका छन्, द्वन्द्वको घाउ कस्तो हुन्छ भन्ने त अहिले सरकारमा बसेकाहरुलाई थाहा हुनुपर्ने नि ।’ १० वर्षे सशस्त्र युद्धका क्रममा राज्य वा विद्रोही जुन पक्षबाट पीडित भएपनि द्धन्दको घाऊ साह्रै नमीठो हुने उहाँको भनाई छ । 

‘आँसु र रगतलाई सामान्य नठानौं’ द्धन्दमा विद्रोही पक्षबाट बुवा गुमाएका हमालले भन्नुभयो, ‘अहिलेको विप्लव समूह र सरकार दुवै पक्षले यो कुरा बुझ्नुपर्छ ।’ कार्यक्रममा पत्रकार भिमलाल श्रेष्ठले पनि विप्लव समूह र सरकारबीचको असन्तुष्टिहरुलाई बेलैमा किनारा लगाउनुपर्नेमा जोड दिनुभयो । 

उहाँले भन्नुभयो, ‘हिजो १० वर्षे युद्धको सुुरुतिरका दिनजस्तै संकेत देखिन थालेको छ, जेसुकै कारणले सुरु गरिएको होस्, युद्धले देश र नागरिकलाई कस्तो हालतमा पु¥याउने रहेछ भनेर हामीले भोगेका छौं ।’ 

न्याय र परिपूरण नभएको गुनासो 

कार्यक्रममा सहभागी द्धन्दप्रभावित र अधिकारकर्मीहरुले १० वर्षे सशस्त्र युद्धमा पीडित भएकाहरुले हालसम्म न्याय पाउन नसकेको गुनासो गरेका छन् । राज्य र विद्रोही दुवै पक्षबाट मारिएका बेपत्ता पारिएका धेरैजसोले के कारण ज्यान गुमाए वा किन बेपत्ता पारियो भनेर थाहा पाउनुपर्ने उनीहरुको माग छ । 

‘हामीलाई सत्यतथ्य थाहा हुनुप¥यो’ उहाँले भन्नुभयो, ‘सत्यको खोजी गर्दा प्रचण्ड जेल जान्छन् भने पनि जाऊन्, शेरबहादुर जेल जान्छन् भने पनि जाऊन्, हामीलाई के को आपत्ति ?’ राज्यले शहीद परिवार भनेर घोषणा गरे पनि त्यसको प्रमाण दिन नसकेकोमा उहाँको असन्तुष्टि छ । 

सत्य निरुपण र बेपत्ता छानबिन आयोगको औचित्यमाथि पनि धेरै सहभागीले प्रश्न उठाएका छन् । द्वन्द्वपीडित साझा चौतारीका संस्थापक केन्द्रीय अध्यक्ष सुमन अधिकारीले आसेपासेलाई जागीर खुवाउन मात्रै आयोगको नाटक रचिएको आरोप लगाउनुभयो । 

‘संक्रमणकालीन न्यायसँग सम्बन्धित सबै पक्षलाई समेटेर आयोग बनाउनुपर्छ’ उहाँले भन्नुभयो, ‘अहिले त झन् आयोग र ऐन दुवै डेडलक भएको छ ।’ 
सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगसम्बन्धी ऐन पीडितलाई न्याय दिनेभन्दा पनि पीडकलाई जोगाउने खालको रहेको अधिकारीले बताउनुभयो । 

द्वन्द्वपीडितले धीत मर्ने गरी रुन नपाएको भन्दै सरकारले पीडितको पक्षमा केही गर्न नसकेको उहाँको गुनासो छ । ‘उहाँहरु त्यही रगतको जगमा टेकेर सत्तामा पुग्नुभयो, तर अहिले रगत बगाउनेका परिवारलाई उपेक्षा गरिरहनु भएको छ’ अधिकारीको टिप्पणी थियो । 

कार्यक्रममा द्वन्द्वपीडित तथा नेकपा गोरखाका नेता अकुर तिमिल्सिनाले राज्य वा विद्रोही दुवैै पक्षबाट पीडित भएकाहरुलाई साझा रुपमा राखेर तत्कालीन द्वन्द्वको दीर्घकालीन समाधान खोज्नुपर्ने बताउनुभयो । 

‘दशवर्षे युद्ध किन भयो, त्यसको कारण पनि खोज्नुपर्छ, दुईपक्ष नभै युद्ध नै हुँदैन, त्यसैले यसलाई र उसलाई भनेर कुनै एक पक्षलाई तत्कालीन युद्धको दोष थोपार्नु हुँदैन ।’ कार्यक्रममा द्वन्द्वपीडित साझा चौतारीले निर्माण गरेको वृत्तचित्र चहराइरहेको घाउको प्रदर्शन गरिएको थियो । 
 

अन्तिम अपडेट: चैत १६, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया