नेपाल बैंक लुटेको आरोप लागेका व्यक्ति नै उद्घाटन समारोहका अतिथि !

 चैत ९, २०७५ शनिबार ७:९:५१ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – नेपाल बैंक धादिङ शाखाको उद्घाटन समारोहको अनौठो दृश्य देखियो । 

शुक्रबार धादिङ शाखाको उद्घाटन समारोहमा नेकपाका नेता रामबहादुर भण्डारी अतिथिको आसनग्रहण गरे । अन्य नेताहरु पनि थिए । आकर्षणका केन्द्र जस्ता लाग्ने भण्डारीले जब शुभकामना मन्तव्य दिन मञ्चमा गए, तब अब उनले के भन्लान् भन्ने कौतुहलता सबैमा छाएको थियो ।

२०५४ साल माघमा नेपाल बै्रकको खहरे शाखाको २० लाख रुपैयाँ लुटियो । तत्कालीन माओवादीले कारबाही गरेको जनाएको थियो । तत्कालीन अवस्थामा माओवादीको नेतृत्व सम्हालेका नेता भण्डारीलाई बैक लुटेको आरोपमा ०५५ जेठ १८ गते सुरक्षाकर्मीले पक्राउ गर्‍यो ।

त्यही दिन राती उनलाई ज्यामरुङमा गोली हानेर घाइते पारिएपछि मानवअधिकारका लागि कार्यरत इन्सेकको सहयोगमा उपचार भयो । भण्डारीलाई प्रहरीले बैंक लुटेको आरोपमा मुद्दा लगाएर अदालत पेश गरेको थियो । अदालतमा नेपाल बैँकका तर्फबाट बयान दिने व्यक्तिले नेता भण्डारीले बैंकमा नलुटेको बयान दिएपछि भण्डारीले जितेका थिए ।

यही आरोप लागेर जेल परेका भण्डारीले २ सय ५८ औँ शाखाको रुपमा धादिङबेशीमा शाखा उद्घाटन गर्दा आफू नेपाल बैंकप्रति ऋणि रहेको भाषण गरेपछि सबै गम्भीर भएका थिए । आफूलाई सुरक्षाकमींबाट जोगाइदिएकोमा भण्डारीले आफू निकै खुशी भएको बताउँदै अब शान्ति प्रक्रियाबाट आर्थिक विकासका लागि देश अगाडि बढेका बेला आएको नेपाल बैंकले गरिबका लागि काम गर्नु पर्ने बताए ।

 नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारीले सरकारको समेत लगानी रहेकोले यो बैंकले प्रभावकारी सेवा र सरकारले घोषणा गरेका कार्यक्रममा पूर्ण रुपमा लागु गर्ने बताउनुभयो ।  
 

अन्तिम अपडेट: चैत १४, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया