टोगोसँग नेपालको कुटनीतिक सम्बन्ध स्थापना

 चैत ९, २०७५ शनिबार ७:३६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अफ्रिकी देश टोगोसँग नेपालको कुटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै विश्वका विभिन्न १६४ देशसँग नेपालको कुटनीतिक सम्बन्ध कायम भएको छ । 

अमेरिकाको न्यूयोर्कमा रहेको राष्ट्र संघीय नियोगका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र राष्ट्र संघीय नियोगका लागि टोगोका स्थायी प्रतिनिधि कोकोउ क्पाएदोले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दुई देशबीच दौत्य सम्बन्ध स्थापना भएको जनाउनु भएको हो ।  

न्यूयोर्कस्थित राष्ट्र संघका लागि नेपाली नियोगमा भएको कार्यक्रममा दुवै देशका स्थायी प्रतिनिधिले दुई देशबीच सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको जनाएका छन् । 

शुक्रबार नै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसलाई दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको जानकारी गराइएको छ । 

टोगोकाे राजधानी लाेम

पश्चिम अफ्रिकी देश टोगोको राजधानी लोम हो । टोगोको पश्चिममा घाना, पूर्वमा बेनिन र उत्तरमा बुर्किना फासो पर्दछ । सन् १९६० मा फ्रान्सको उपनिवेशबाट स्वतन्त्र भएपछि टोगो संयुक्त राष्ट्र संघको सदस्य बनेको थियो । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

1 Comments

  • रुद्र थापा मगर

    March 23, 2019, 5:36 p.m.

    संख्या मात्र बढेर के गर्नु भएका संग सम्बन्ध सुमधुर चाहिँ हुनु पर्छ कि पर्दैन ???

  •  0 Reply

तपाईको प्रतिक्रिया